काठमाडौं ।  भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूको विरोध कायम रहे पनि सत्तारूढ गठबन्धनले प्रतिनिधिसभाको बैठक आजदेखि सञ्चालन गर्ने अन्तिम तयारी पूरा गरेको छ।

सभामुख देवराज घिमिरेको पहलमा सिंहदरबारमा भएको बैठकमा प्रमुख तीन दलका मुख्य सचेतकहरूको सहभागिता रहेको थियो। छलफलपछि नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले संसद अब रोकिरहन नसकिने स्पष्ट पारे।

advertisement

उनले भने, “विपक्षीले सहयोग गरे संसद सहज रूपमा अगाडि बढ्छ, नत्र पनि संसद चल्छ। लामो समयदेखि संसद अवरुद्ध छ, अब कार्यसूची अघि बढाउनैपर्छ। सधैं निर्णयविहीन बन्दी भएर बस्न सकिँदैन।”

एमाले प्रमुख सचेतक महेश बर्तौलाले पनि संसद बारम्बार सूचना टाँस गरेर स्थगित गर्ने अभ्यास अब अन्त्य हुने बताए। “अहिलेसम्म विपक्षीको आग्रहमा बैठक स्थगित गरिँदै आएको थियो। तर आजदेखि संसद सुचारु गरिन्छ। बजेटमाथि छलफल सुरु हुन्छ, संघीय निजामती विधेयक पनि टेबल हुन्छ,” उनले भने।

उनले विपक्षीले संसदलाई लामो समयसम्म बन्धक बनाउन सक्दैनन् भन्ने विश्वास व्यक्त गरे।

यसअघि पटक–पटक बैठक स्थगन गर्दा पनि समाधान नखोजिएकोमा सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूसँग असन्तुष्टि जनाएका थिए।

यसैबीच, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विपक्षी दलहरूसँग थप छलफलका लागि छुट्टै बैठक गरिरहेका छन्।

प्रकाशित मिति: २५ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com