काठमाडौँ । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनमा सत्तापक्ष तयार नभएसम्म संसद् सञ्चालन हुन नदिने निष्कर्षमा विपक्षी दलहरू पुगेका छन्। आइतबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको विपक्षी गठबन्धनको बैठकले सदन अवरोध जारी राख्ने निर्णय गरेको हो।

बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शनिबार भएको वार्ताको जानकारी दिएका थिए। माओवादी प्रमुख सचेतक हितराज पाण्डेका अनुसार प्रचण्डले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सर्तमा संसद् सञ्चालनमा सहकार्य गर्न तयार रहेको प्रस्ताव देउवालाई राखेका थिए। तर देउवाले उक्त प्रस्ताव स्वीकार नगरेको बैठकमा जानकारी दिइएको थियो।

advertisement

“छानबिन समिति गठन हाम्रो मुख्य माग हो। प्रचण्डले देउवासँग गरेको संवाद पनि सकारात्मक देखिएन,” पाण्डेले बैठकपछि भने, “सत्तापक्षभित्र अहिले पनि छलफल चलिरहेको हुन सक्छ, तर विपक्षीहरूको अडान परिवर्तन भएको छैन।”

पाण्डेले थपे, विपक्षी दलहरूको साझा निष्कर्ष लिएर माओवादी उपमहासचिव शक्ति बस्नेतले कांग्रेस नेताहरूसँग गरेको छलफल पनि अपेक्षाकृत सकारात्मक नभएको छ। त्यसैले अवरोध यथावत् रहनेछ।

प्रकाशित मिति: २५ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com