काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमाले राजनीतिमा पुनः प्रवेशबारे बाहिर चलाइएका चर्चाप्रति कडा असन्तुष्टि जनाएका छन्।
आइतबार अनेरास्ववियुको २४औं महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले स्पष्ट रूपमा नाम नलिए पनि हालसालै चर्चामा आएको विषयप्रति आक्रोश व्यक्त गरे।
ओलीले भने, “यहाँ फेरि अर्को खेल खेल्ने तयारी भइरहेको छ। फलाना नेताले फर्किने रे, यो हुने रे भन्ने हल्ला फैलाइएको छ। तर पार्टीभित्र अहिलेसम्म को महासचिव, को अध्यक्ष वा उपाध्यक्ष भन्नेबारे कुनै पनि औपचारिक छलफल भएको छैन।”
उनले महाधिवेशनको घोषणा नभइसकेको अवस्थामा यस्तो हल्ला चलाउनु गम्भीर षड्यन्त्र भएको भन्दै त्यसप्रति सचेत रहन कार्यकर्तालाई आग्रह गरे। “न महाधिवेशनको घोषणा भएको छ, न सरसल्लाह भएको छ। यस्ता हल्ला फैलाएर पार्टीलाई कमजोर पार्ने प्रयास सह्य हुँदैन,” उनले भने।
ओलीले बाहिरी प्रचारबाजीबाट पार्टी कार्यकर्ताको मनोबल खस्क्याउने कोसिस भइरहेको भन्दै यस्ता गतिविधिलाई प्रतिरोध गर्न निर्देशन दिए। “बाहिर हल्ला चलाएर पार्टी कार्यकर्ताको मानसिकता बिगार्ने कोशिश भइरहेको छ। त्यसको सोझो र स्पष्ट प्रतिवाद गर्नुहोस्,” उनले कार्यकर्तालाई भने।
त्यस्तै, पार्टीभित्र गुटको नाममा फैलाइएका अफवाहप्रति पनि ओलीले आपत्ति जनाए। “तलतल यो ग्रुप रे, त्यो ग्रुप रे भन्ने सुनिन्छ। तर पार्टीमा कुनै गुटको आवश्यकता छैन,” उनले भने, “तपाईंहरूले यस्ता कुरा सुन्नासाथ तुरुन्तै ‘हामीलाई यस्तो स्वीकार्य छैन’ भनेर जवाफ दिनुपर्छ।”
ओलीले अनुशासन, एकता र उद्देश्यप्रति केन्द्रित भई अघि बढ्नुपर्नेमा जोड दिँदै गुटबन्दी र हल्लाका आधारमा राजनीति गर्न नहुने स्पष्ट पारे।
प्रकाशित मिति: २५ जेष्ठ २०८२, आइतबार












प्रतिक्रिया