काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘मिसन ८४’ को उद्देश्य नेकपा एमालेलाई मुलुकको निर्णायक राजनीतिक शक्तिका रूपमा स्थापित गर्नु रहेको स्पष्ट पारेका छन्।
अनेरास्ववियु (क्रान्तिकारी) को २४औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले पार्टीको दीर्घकालीन रणनीति र समसामयिक राजनीतिक धारणा प्रस्तुत गरे।
उनले भने, “विश्वभर कम्युनिस्ट र समाजवादी आन्दोलनहरू सङ्कटमा परेका बेला नेपालमा जनताको बहुदलीय जनवादले आन्दोलनको रक्षा गर्यो। त्यसैको बलमा हामी आज यहाँसम्म आइपुगेका छौं।”
प्रधानमन्त्री ओलीले आगामी १३ महिनापछि नेपाली कांग्रेसलाई सरकारको नेतृत्व सुम्पेर एमाले ‘मिसन ८४’ मा केन्द्रित हुने जानकारी दिए। उनले यो अभियानमार्फत एमालेलाई थप सुदृढ र जनतामाझ लोकप्रिय शक्ति बनाउने लक्ष्य रहेको बताए।
देशको वर्तमान राजनीतिक परिस्थितिमा विपक्षी दलहरूले विभिन्न किसिमका जालझेल गरिरहेको उल्लेख गर्दै उनले दलभित्र बलियो एकता, फेरि एकता र अझ सुदृढ एकताको आवश्यकता रहेकोमा जोड दिए।
“गणतन्त्रको संरक्षण, सुदृढीकरण र यसको गतिशील विकासको जिम्मेवारी एमालेले काँधमा लिएको छ,” प्रधानमन्त्री ओलीले भने, “पार्टीप्रतिको निष्ठा कुनै पनि परिस्थितिमा नत्याग्नुस्। सही विचार अँगालेर नै अगाडि बढ्नुहोस्।”
कार्यक्रममा प्रधानमन्त्री ओलीले विद्यार्थीहरूलाई राष्ट्र, लोकतन्त्र र पार्टीप्रति समर्पित रहन आग्रह गर्दै राजनीतिमा अनुशासन, विचार र मूल्यप्रतिको प्रतिबद्धता आवश्यक रहेको उल्लेख गरे।
प्रकाशित मिति: २५ जेष्ठ २०८२, आइतबार













प्रतिक्रिया