काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको हालको राजनीतिक गतिविधिले एमालेभित्र तरंग ल्याएको छ। सक्रिय राजनीतिमा फर्कने औपचारिक घोषणा नगरेकी भए पनि भण्डारीको पछिल्लो दौडधुपप्रति पार्टी अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट देखिएका छन्।
भर्खरै चीन भ्रमण सकेर आएकी भण्डारी अहिले पूर्वी नेपालका झापा, मोरङ लगायतका जिल्लामा सक्रिय छिन्। एमाले नेतृकै हैसियतमा उनी चीन भ्रमणमा गएकी थिइन्। भ्रमणबाट फर्केपछि जिल्लास्तरका नेता–कार्यकर्तासँग उनको भेटघाट जारी छ। झापामा भण्डारीलाई एमालेका शीर्षस्थ नेताहरूले सार्वजनिक रूपमा स्वागत गरेका छन् र सक्रिय राजनीतिमा फर्कन आग्रहसमेत गरेका छन्।
तर, यही भेटघाट र स्वागतले ओली असहज बनेका छन्। आइतबार कीर्तिपुरमा आयोजित अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै ओलीले पार्टीभित्रको अनुशासन र एकतालाई खलल पार्ने प्रयासप्रति आक्रोश पोखेका हुन्।
ओलीले भने- “फलाना आउने रे, खेल हुन खोजिएको छ”
भण्डारीको नाम नलिए पनि ओलीको संकेत प्रष्ट थियो—पार्टीभित्र केही समूहहरू महाधिवेशन अगावै नाम सर्कुलेट गर्दै संगठनमा हलचल ल्याउने प्रयासमा छन्। उनले भने, “अब फलाना आउने अरे, अर्को खेल हुन खोजिएको छ। पार्टीमा को महासचिव, को अध्यक्ष भन्ने कुनै छलफल भएको छैन।”
ओलीले महाधिवेशनको मिति समेत तय नभएको अवस्थामा त्यस्ता अड्कलबाजीले संगठन कमजोर बनाउने चेतावनी दिए। “बाहिर हल्ला चलाएर कार्यकर्ताको मनस्थिति बिथोल्ने प्रयास सह्य हुँदैन,” उनले भने, “यस्ता दुष्प्रयासको तपाईंहरूले सोझो जवाफ दिनुपर्छ।”
भण्डारीलाई झापामा नेता–कार्यकर्ताको समर्थन
शनिबार झापा पुगेकी भण्डारीलाई जिल्ला अध्यक्ष प्रेमबहादुर गिरी, नेत्री मेनुका काफ्ले, नगरप्रमुख पवित्रा प्रसाईंलगायतले सार्वजनिक रूपमा स्वागत गरेका थिए। भेटमा नेताहरूले भण्डारीलाई पार्टी अध्यक्षको रूपमा हेर्ने चाहना व्यक्त गरेका थिए।
भण्डारीको साथमा कोसी प्रदेशका इन्चार्ज शेरधन राई, सचिव राजकुमार भण्डारी, सहसचिव देवान राई पनि थिए। उनले झापामा आयोजित विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गर्नुका साथै स्थानीय नेताहरू र कार्यकर्तासँग भेटघाट गरिन्।
ओलीको निर्देशनः “अनेरास्ववियु सभ्य, जिम्मेवार बनोस्”
समारोहमा ओलीले अनेरास्ववियु कार्यकर्ताहरूलाई संगठनलाई जिम्मेवार र अनुशासित बनाउने निर्देशनसमेत दिए। उनले विद्यार्थी राजनीतिमा हिंसा, तोडफोड र धाकधम्कीको अन्त्य गर्न आग्रह गरे।
“अनेरास्ववियु भन्नासाथ मित्रतापूर्ण व्यवहार र सभ्य आचरण झल्कनुपर्छ,” उनले भने, “कार्ड देखाएर धम्क्याउने संस्कार अन्त्य हुनुपर्छ।”
सत्ता साझेदारी र आगामी निर्वाचनबारे प्रष्टता
ओलीले सरकार सहमतिअनुसार सही मार्गमा अगाडि बढिरहेको दाबी गर्दै सत्ता गठबन्धनभित्र कुनै मतान्तर नरहेको बताए। उनले १३ महिनापछि सरकारको नेतृत्व कांग्रेसलाई हस्तान्तरण गरिने सहमति दोहोर्याए।
“हामी प्रतिस्पर्धाका लागि तयार छौं,” ओलीले भने, “आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने गरी अघि बढ्नुपर्छ। यसमा अन्योल छैन।”
विद्यादेवी भण्डारीको बढ्दो सक्रियता एमालेभित्र शक्ति सन्तुलनको सन्देश बोकेर आएको छ। तर अध्यक्ष ओली भने पार्टी एकताको सन्देश दिँदै सम्भावित गुटबन्दी र नेतृत्व चुनौतीलाई सशक्त रूपमा रोक्ने प्रयासमा देखिएका छन्।
प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार













प्रतिक्रिया