काठमाडौँ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र संसदीय छानबिन समिति गठनको मागमा विपक्षी दलहरू अझै अडिग देखिएका छन्।

सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको विपक्षी दलहरूको बैठकले छानबिन समिति सुनिश्चित नभएसम्म प्रतिनिधिसभा सञ्चालन हुन नसक्ने निष्कर्ष निकालेको छ।

advertisement

माओवादी सांसद राजन दाहालका अनुसार, कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठ निवासमा अध्यक्ष प्रचण्डसँग भएको छलफलमा छानबिन समिति गठनको सहमतिसहित संसद् खोल्न तयार रहेको कुरा प्रष्ट गरिएको थियो। तर, प्रधानमन्त्री केपी शर्मा ओलीको असहमतिका कारण सहमति कार्यान्वयनमा ढिलाइ भएको उनले आरोप लगाए।

दाहालले भने, “देउवाजीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छिटो छानबिन सक्ने र त्यसपछि मानव बेचबिखन तथा संगठित अपराधसम्बन्धी विषयमा संसद्बाट छानबिन समिति बनाउने सहमति भएको थियो। तर अहिले न गृहमन्त्रीको राजीनामा दिने तयारी देखिन्छ, न त त्यो सहमति कार्यान्वयन गर्ने मनसाय देखिन्छ।”

उनले कांग्रेसले अहिलेको अवस्थामा गृहमन्त्रीमाथि प्रत्यक्ष छानबिन नगरी अध्यागमन विभागमा भविष्यका लागि नीतिगत सुधारका सुझाव दिने मात्र संयन्त्र बनाउने प्रस्ताव ल्याएको भन्दै असन्तुष्टि जनाए।

“प्रधानमन्त्री स्वयं सदन सुचारु गर्ने विषयमा गम्भीर देखिँदैनन्, त्यसैले कांग्रेसले मुख्य नेतृत्व लिएर रास्वपासँग छुट्टै संवाद गरिरहेको छ,” दाहालले बताए, “तर आजै सहमति जुट्ने सम्भावना भने न्यून छ।”

लगातार स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज पनि दिउँसो २ बजेका लागि बोलाइएको छ। तर, राजनीतिक गतिरोध अन्त्य हुने संकेत अझै प्रष्ट देखिएको छैन।

प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com