काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा नेकपा (एमाले) का सचिव योगेश भट्टराईले संघीय शासन प्रणालीलाई प्रभावकारी बनाउन स्थानीय तह र प्रदेश सरकारलाई थप स्रोतसाधन उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन्।
सोमबार काठमाडौंमा आयोजित ‘संघीयतामा बजेट’ विषयक कार्यक्रममा बोल्दै भट्टराईले अझै पनि केन्द्रीकृत सोच हावी रहेको उल्लेख गर्दै त्यसलाई क्रमशः हटाउँदै संघीय शासनको प्रभावकारी कार्यान्वयन गर्नु जरुरी रहेको बताए।
उनले स्थानीय तह र प्रदेशलाई आवश्यक स्रोतसाधनसहित सक्षम बनाएर बजेट कार्यान्वयनको क्षमता वृद्धि गर्नु पर्ने बताए। संघीयताको बलियो कार्यान्वयनका लागि यसो गर्नु अपरिहार्य रहेको उनको भनाइ थियो।
भट्टराईले हाल स्थानीय तहको संख्यालाई घटाएर वडाको संख्या बढाउने विषयमा छलफल चलिरहेको जानकारी दिँदै, यसबारे पार्टी भित्र व्यापक बहसपछि निष्कर्षमा पुगिने बताए। उनका अनुसार अनौपचारिक रुपमा करिब ५०० स्थानीय तह कायम गर्नेबारे विचारविमर्श भइरहेको छ।
उनले मुलुकमा विकासको गतिमा विस्तार आएको भन्दै त्यसलाई गुणस्तरयुक्त र परिणाममुखी बनाउन सके आर्थिक विकास बलियो हुने धारणा राखे।
एमाले सचिव भट्टराईले संघीयता आर्थिक, राजनीतिक र प्रशासनिक तीनवटै आयामसँग जोडिएको उल्लेख गर्दै, हालसम्म आर्थिक तथा राजनीतिक पक्षमा संघीयता लागू भए पनि प्रशासनिक तहमा अझै पूर्णरूपमा कार्यान्वयन हुन नसकेको बताए।
उनको भनाइमा संघीयताको सफल कार्यान्वयनका लागि प्रशासनिक अधिकारको हस्तान्तरणमा पनि गम्भीरता अपनाउन जरुरी छ।
प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार












प्रतिक्रिया