काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पेश गर्नुभएको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको हो।
यसअघि बैठकले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पनि एकमतले पारित गरेको थियो। सो छलफलमा सांसदहरू सुरेशकुमार आले मगर, रुक्मिणी कोइराला, तारामान स्वाँर, डा. बेदुराम भुसाल र विष्णुबहादुर विश्वकर्माले भाग लिएका थिए।
छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री दाहालले विधेयकले आन्तरिक जलमार्गमा जलयान सञ्चालन गर्न कानुनी आधार तयार पार्ने विश्वास व्यक्त गर्नुभयो। साथै, यसबाट नेपालले जलमार्गमार्फत समुद्रसम्म पहुँच विस्तार गर्न सक्ने उल्लेख गर्नुभयो।
राष्ट्रियसभाको आगामी बैठक २०८१ साल जेठ ३० गते शुक्रबार अपराह्न १ः१५ बजे बस्ने कार्यक्रम रहेको छ।
प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार












प्रतिक्रिया