काठमाडाैं । पूर्वअर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट बठ्याइँ गरेर ल्याइएको आरोप लगाएका छन्। सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले तीन करोडभन्दा तलका आयोजनामा बजेट नराखिएको दाबी गरे पनि वास्तवमा साना आयोजनाहरूलाई विभिन्न शीर्षकमा मिसाएर राखिएको बताएका हुन्।
पुनका अनुसार, स्वास्थ्य, शिक्षा, ऊर्जा तथा वन मन्त्रालयअन्तर्गत स्थानीय तहलाई दिइएका अधिकारहरू फिर्ता लिने कार्य संविधानको संघीयता सम्बन्धी मर्मविपरीत रहेको छ। उनले भने, “संघीयताको सिद्धान्तमा हामी सबै प्रतिबद्ध छौं, तर व्यवहारमा अधिकार कटौती हुनु गलत हो।”
बजेटको विवरण अध्ययन गर्दा धेरै शीर्षकहरूमा साना साना परियोजनाहरू मिसाइएको देखिएको उनको दाबी छ। “एउटा शीर्षकमा तीनदेखि चारवटा आयोजना राखिएको छ, बजेट तीन करोड देखिन्छ तर आयोजनाहरू बढी छन्। यसले कार्यान्वयनमा समस्या ल्याउँछ,” पुनले भने। उनले यसलाई सरकारको “चतुराईपूर्ण बठ्याइँ” भनेका छन्।
उनले गत वर्ष सहरी विकास मन्त्रालय अन्तर्गत यस्तै शैलीमा साना आयोजना राखिएको प्रसंग पनि स्मरण गरे। “गत वर्ष ९२ अर्बको बजेट थियो, यसपालि ११८ अर्ब पुगेको छ। सहरी विकास मन्त्रालयमा योजना आयोगको मूल्यांकनबिनै ५० भन्दा बढी आयोजना थपिएका छन्,” उनले आरोप लगाए।
पुनले सहरी विकास मन्त्रीसँग भएको छलफलमा २५ लाखसम्मका आयोजनाहरू बजेटमा परेका जानकारी दिएका थिए। तर अन्तिम बजेटमा १ लाख वा डेढ लाख रुपैयाँ बराबरका आयोजनासमेत समावेश भएको देखिएको उनले बताए। यस्तो प्रवृत्तिले प्रदेश तथा स्थानीय तहमा पनि “बजेट रोग” फैलन सक्ने चेतावनी उनले दिएका छन् ।
प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार












प्रतिक्रिया