काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) सडक आयोजनाको सुरु विन्दु सम्बन्धी विवाद र समाधानका उपायबारे ललितपुरस्थित खोकना र बङ्गमती क्षेत्रका स्थानीय प्रतिनिधिहरूसँग आज छलफल गर्नुभएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा खोकना क्षेत्रका पूर्व गाविस अध्यक्ष मदनकृष्ण डङ्गोल, नेकपा (एमाले) ललितपुर महानगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र शाक्य, स्थानीय जनसरोकार समितिका संयोजक नेपाल डङ्गोल, एमाले वडा नं. २१ का अध्यक्ष ज्ञानभक्त महर्जनलगायतको सहभागिता रहेको थियो। उनीहरूले आयोजनाको प्रारम्भिक बिन्दु खोकना क्षेत्रमै राखिए परम्परागत संस्कृति र सभ्यतामा गम्भीर असर पर्ने भएकाले वैकल्पिकरूपमा सो स्थानभन्दा साढे पाँच किलोमिटर तल पर्ने डुकुछापलाई उपयुक्त विकल्पका रूपमा प्रस्ताव गरेका थिए।

advertisement

छलफलमा रक्षा मन्त्रालयका सचिव रामेश्वर दङ्गाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उच्च अधिकारीहरू, तथा नेपाली सेनाका प्रतिनिधिहरू पनि सहभागी थिए।

प्रधानमन्त्री ओलीले स्थानीय जनताको भावना र सरोकारप्रति सरकार संवेदनशील रहेको भन्दै जनतालाई दुःख हुने गरी कुनै पनि विकास योजना नल्याइने स्पष्ट पार्नुभयो। उहाँले समस्याको समाधानमा पुग्नुअघि आफैं स्थल निरीक्षण गर्ने प्रतिबद्धता जनाउनुभयो।

यसअघि माघ २३ गते प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, तथा प्रधानसेनापति अशोकराज सिग्देललगायतसँग आयोजनाको प्रगति र समस्या समाधानका लागि छुट्टै बैठक गर्नुभएको थियो।

कुल ७०.९७ किलोमिटर लम्बाइको उक्त द्रुतमार्ग आयोजना विसं. २०७४ मा सुरु भएको हो। अनुमानित लागत दुई खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ रहेको यो आयोजनालाई विसं. २०८३ को चैत महिनासम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com