काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई पेरिस जलवायु सम्झौताको विरोधी रहेको आरोप लगाएका छन्।
सोमबार सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै देउवाले ट्रम्पले जलवायु परिवर्तनको खतरालाई गम्भीर रूपमा नलिएको र त्यसलाई ‘बेकारको कुरा’ भनेर खारेज गरेको आरोप लगाए।
उनले भने, “अमेरिकाका राष्ट्रपतिजी त जलवायु परिवर्तन नै मान्न तयार हुनुहुन्न। अहिले पनि पेरिस सम्झौताविरुद्ध उभिनु भएको छ।”
देउवाले जलवायु परिवर्तनजस्तो वैश्विक संकटप्रति सबै देशले गम्भीर ध्यान दिनुपर्नेमा जोड दिँदै नेपालजस्तो जलवायु परिवर्तनबाट प्रत्यक्ष प्रभावित राष्ट्रले यस विषयमा सशक्त आवाज उठाउनु अत्यन्त आवश्यक रहेको बताए।
उनका अनुसार, “नेपाल जस्तो मुलुकमा जलवायु परिवर्तनको असर दिनदिनै देखिँदैछ, त्यसैले हामी स्वयंले नै यसबारे बढी चासो र दबाब दिनु जरुरी छ।”
कार्यक्रममा देउवाले जलवायु न्याय र अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकतालाई पनि उल्लेख गरेका थिए।
प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार













प्रतिक्रिया