काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले निजी क्षेत्र, साझेदार संस्था तथा सरोकारवालाहरूलाई महानगरले आयोजना गरेको सिप मेलाको अवलोकन गर्न आग्रह गरेका छन्। युवाहरूलाई उद्यमशीलता र स्वरोजगारतर्फ प्रेरित गर्दै देशमै आत्मनिर्भर बन्ने अवसर प्रदान गर्ने उद्देश्यले संचालन गरिएको यस मेलामा विभिन्न तालिमहरू प्रदान भइरहेको छ।
महानगरको ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ अभियानअन्तर्गत सञ्चालन भइरहेको सिप मेला अहिले दोस्रो संस्करणमा पुगेको छ। निजी क्षेत्रको सहकार्यमा सञ्चालित यस मेलाको माध्यमबाट १५ हजार व्यक्तिलाई सिपमूलक तालिम दिने लक्ष्य लिइएको छ भने ५ हजारलाई रोजगारी वा स्वरोजगारमा आबद्ध गराउने योजना रहेको छ।
प्रमुख शाहका अनुसार, “मेलाको उद्देश्य भनेको सिप नभएकालाई सिप सिकाउने र आधारभूत सिप भएका व्यक्तिहरूको दक्षता अभिवृद्धि गर्नु हो।” उनले थपे, “१० वटा क्षेत्रका ३७ वटा पेसामा निःशुल्क तालिम सञ्चालन भइरहेको छ।”
सिप मेलामा विशेषगरी सूचना प्रविधि (ICT) अन्तर्गत ७ वटा पेसा, ब्युटिसियन तथा श्रृङ्गार सम्बन्धी ५ वटा पेसा, ज्योतिष तथा पुरोहित सेवा, कृषिमा फूलको सजावट (फ्लावर डेकोरेसन), स्टक मार्केटलगायतका विषयमा तालिमहरू प्रदान गरिँदै छन्।
दोस्रो संस्करणका लागि हालसम्म १४ हजार ७४८ जनाले अनलाइनमार्फत आवेदन दिइसकेका छन्, जसले युवाहरूको आकर्षण र मेलाको प्रभावकारिता देखाउँछ।
प्रमुख शाहले सबै सरोकारवालाहरूलाई मेलाको प्रत्यक्ष अवलोकन गरी प्रशिक्षार्थीहरूको मेहनत, प्रतिबद्धता र सम्भावना नजिकबाट बुझ्न आह्वान गरेका छन्। उनले भने, “यी युवाहरू नै भोलिको समृद्ध काठमाडौँका आधार स्तम्भ हुन्।”
प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलबार












प्रतिक्रिया