राजविराज । सप्तरीको राजविराज नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको सरुवालाई लिएर जारी आन्दोलनका बीच साेहि नगरपालिकाका लेखा अधिकृत कुटिएको घटना सार्वजनिक भएको छ।

नगरपालिकाको कार्यालय परिसरमै कार्यरत लेखा अधिकृत शत्रुधनलाल दासमाथि मंगलबार कुटपिट भएको हो। घाइते दासलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको छ। उनले निलम्बित मेयर भीमराज यादवको निर्देशनमा आफूमाथि आक्रमण भएको आरोप लगाएका छन्। “यादवले निर्देशन दिएपछि ४/५ जनाले कुटपिट गरे, उनीहरूले सुनको सिक्री समेत खोसेर लिएकाे,” दासले बताएका छन्।

advertisement

प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) डा. श्रवणकुमार साहको सरुवापछि आन्दोलनमा उत्रिएका निलम्बित मेयर यादव र उनका समर्थकहरूले नगरपालिकामा तालाबन्दी गरी धर्ना दिइरहेका छन्। यिनीहरूले कार्यवाहक मेयर इसरत परविन र केही कर्मचारीले आफूहरूलाई कुटपिट गर्न खोजेको आरोप लगाएका छन्। “हामी शान्तिपूर्ण रूपमा धर्नामा बसेका थियौं। उनीहरू प्रहरीले साथ ल्याएर जबरजस्ती ताल्चा फोरेर आक्रमणको प्रयास गरे,” यादवले बताए, ” साथै ९ नं का वडाध्यक्षलाई समेत चोट लागेको छ।”

प्रशासकीय अधिकृत साहको सरुवा पछि आठौं तहका शिक्षा शाखाका कर्मचारी भोगेन्द्रप्रसाद यादवलाई निमित्तको जिम्मेवारी दिइएको थियो। यही नियुक्तिलाई लिएर असन्तुष्टि जनाउँदै आइतबारदेखि आन्दोलन चलिरहेको हो। सोमबार दुवै पक्षबीच लामो छलफल भए पनि समाधान ननिस्किँदा विवाद थप चर्किएको हो।

कार्यवाहक मेयर परविनले डा. साह समयमै कार्यालय नआएपछि सरुवा गराउनु परेको बताइन्। “हामीले पनि उपसचिव तहकै माग गरेका थियौं तर मन्त्रालयमा अभाव रहेकाले असारसम्मका लागि निमित्त राखिएको हो,” उनले भनिन्, “यो अनावश्यक आन्दोलन हो। कसैले भ्रष्टाचार गर्‍यो भने नियमन गर्ने निकायहरू छन्।”

सप्तरीका एसपी ढकेन्द्र खतिवडाले कर्मचारीमाथिको कुटपिटबारे थप अनुसन्धान भइरहेको जानकारी दिए। “हामी तत्काल परिस्थिति शान्त पार्न प्रयासरत छौं। कुटपिटसम्बन्धी घटना बारेमा थप अनुसन्धान भइरहेको छ,” उनले भने।

प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com