काठमाडौं । सरकारले गैरआवासीय नेपाली (एनआरएन) नागरिकताको व्यवस्था गर्न छुट्टै कानुन ल्याउने तयारी गरेको छ। मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले सो जानकारी दिएका हुन्।

गृहमन्त्री लेखकले गैरआवासीय नेपाली नागरिकताका लागि नयाँ विधेयक तयार भइरहेको जनाउँदै भने, “सरकार गैरआवासीय नेपाली नागरिकताका लागि संविधानको भावना र प्रावधानअनुसार छुट्टै विधेयक तयार गर्दैछ। उक्त विधेयकमार्फत गैरआवासीय नेपालीहरूले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न सक्ने व्यवस्था गरिनेछ।”

advertisement

उनका अनुसार परराष्ट्र मन्त्रालयको नेतृत्वमा उक्त विधेयकको प्रारूप निर्माण भइरहेको छ र हाल गृह मन्त्रालयमा समेत प्रस्ताव आएको छ। “अब यो विषयलाई नागरिकता संशोधनसम्बन्धी हालको विधेयकमा समावेश गर्नु उपयुक्त छैन,” उनले स्पष्ट पारे।

गृहमन्त्री लेखकले गोरखा सैनिकको विषयमा पनि धारणा राख्दै भने, “गोरखा सैनिकहरूले उठाएका माग संविधानसँग जोडिएको विषय हो, ऐनले मात्रै समाधान गर्न सकिने स्थिति छैन। त्यस विषयमा अझै गहिरो छलफल आवश्यक छ।”

उनले गोरखा सैनिकका माग सम्बोधन गर्न संविधानको अध्ययन र व्याख्या आवश्यक रहेको उल्लेख गरे। “यो विधेयक गोरखा सैनिकका माग सम्बोधनका लागि होइन। उहाँहरूले उठाएको मुख्य मुद्दा वंशजको नागरिकता निरन्तरता पाउने हो, जुन ऐनले मात्र होइन संविधानले टुंग्याउनुपर्ने विषय हो,” उनले भने।

गोरखा सैनिकहरूले बेलायतको नागरिकता लिएपनि नेपाली वंशजको हैसियत कायम राख्नुपर्ने माग गर्दै आएका छन्। सरकार भने यस विषयमा गम्भीर छलफल गर्दै अगाडि बढिरहेको गृहमन्त्री लेखकको भनाइ थियो।

प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com