काठमाडौं । धनुषाको औरही गाउँपालिकामा निर्माण हुन लागेको १५ शय्याको अस्पतालसम्बन्धी ठेक्काप्रक्रियामा करिब ७ करोड रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका एक सांसदसहित १५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले मंगलबार विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा तत्कालीन गाउँपालिका अध्यक्ष ब्रह्मदेव यादव, प्रमुख प्रशासकीय अधिकृत सुवोधकुमार ठाकुर र ठेक्का प्राप्त कम्पनी ‘लुम्बिनी बिल्डर्स जेभी’ का तत्कालीन प्रबन्धक तथा हाल नेकपा (एमाले) बाट निर्वाचित प्रदेशसभा सांसद दीपेन्द्रकुमार ठाकुरलाई मुख्य प्रतिवादी बनाइएको छ।

advertisement

आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा औरही गाउँपालिकाले झिकाएको २४ करोड ४३ लाख रुपैयाँको अस्पताल निर्माण ठेक्कामा सबभन्दा कम मूल्य कबोल गर्ने ‘प्रतिष्ठा/धुलिखेल जेभी’ लाई प्राविधिक कारण देखाउँदै अयोग्य ठहर गरियो। त्यसको सट्टा ६ करोड ७९ लाख रुपैयाँ बढी कबोल गर्ने ‘लुम्बिनी बिल्डर्स जेभी’ लाई ठेक्का दिइयो, जसले राज्यकोषमा ठूलो हानी पुर्‍यायो। अख्तियारले यिनै रकमलाई भ्रष्टाचारको आधार मानेको छ।

सबैभन्दा कम १२ करोड ३५ लाख रुपैयाँमा अस्पताल निर्माण गर्न प्रस्ताव पेस गरेको कम्पनीलाई किनारा लगाएर १९ करोड १४ लाख रुपैयाँ कबोल गर्ने कम्पनीलाई गैरकानुनी रूपमा ठेक्का दिइएको अख्तियारको दाबी छ।

मुद्दामा तत्कालीन गाउँपालिका उपाध्यक्ष मीरादेवी सहनी, वडाध्यक्षहरू अमितकुमार यादव, शिवनाथ साह, प्रमेश्वर साह, दिलिपकुमार साह, साथै हालका वडाध्यक्षहरू अशेश्वर यादव र गंगाप्रसाद यादव पनि प्रतिवादी बनाइएका छन्।

त्यसैगरी, गाउँपालिकाका तत्कालीन इन्जिनियर सोनु साह, सब-इन्जिनियर सन्तोषकुमार मण्डल र विनीतकुमार साह, खरिदार मोहनकुमार मण्डल तथा ‘लुम्बिनी बिल्डर्स’ का अर्का तत्कालीन प्रबन्धक विष्णुप्रसाद शर्माविरुद्ध पनि मुद्दा दायर गरिएको छ।

अख्तियारले सबै प्रतिवादीहरूले मिलेमतोमा सरकारी प्रक्रिया मिचेर निजी कम्पनीलाई लाभ दिलाई राज्यलाई आर्थिक क्षति पुर्‍याएको ठहर गरेको छ।

प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com