काठमाडौं । नेपाल पत्रकार महासंघले नेपालखबर डटकम र बिजमान्डु डटकममा प्रकाशित समाचार हटाउन जिल्ला अदालत काठमाडौंले दिएको आदेश प्रेस स्वतन्त्रता र संविधानको मर्मविपरीत भएको भन्दै गम्भीर आपत्ति जनाएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा अदालतको अल्पकालीन अन्तरिम आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। उक्त आदेश जिल्ला अदालत काठमाडौंका न्यायाधीश पीताम्बर शर्माको एकल इजलासबाट नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै दिइएको हो।
महासंघले प्रेस स्वतन्त्रता सुनिश्चित गर्न संविधानले गरेका प्रावधानहरूलाई बेवास्ता गर्दै अदालतले दिएको आदेशले गम्भीर संवैधानिक प्रश्न खडा गरेको जनाएको छ।
सञ्चारमाध्यममा प्रकाशित वा प्रसारित सामग्रीप्रति असहमति भएमा त्यसको समाधानका लागि पीडित पक्षले उजुरी दिने र आवश्यक कारबाही गर्ने अधिकार प्रेस काउन्सिल नेपालसँग रहेको भन्दै महासंघले अदालतले सो क्षेत्राधिकारलाई उपेक्षा गरेको ठहर गरेको छ।
महासंघले उक्त आदेशबारे पुनर्विचार गरी संविधान र प्रेस स्वतन्त्रताको मर्मअनुकूल कदम चाल्न अदालतसँग आग्रह समेत गरेको छ।
प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार












प्रतिक्रिया