काठमाडौँ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा (एमाले) राष्ट्र, राष्ट्रियता र जनताका मुद्दा लिएर अघि बढिरहेको बताएका छन्।
बुधबार मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गुरुङले एमाले ‘झोला खाने’ होइन, जनताका मुद्दा बोकेर हिँड्ने पार्टी भएको स्पष्ट पारे।
“झोला खानेलाई पनि झोले भन्छ, झोला बोक्नेलाई पनि। हामी झोला खाने झोले होइनौं,” उनले भने, “हामी पार्टीको नीति, सिद्धान्त र जनताका माग बोकेर हिँड्ने कार्यकर्ता हौं। त्यसकारण म गर्वका साथ भन्छु, म एमालेको झोले हुँ।”
उनले एमालेको झोलामा राष्ट्रवाद, सुशासन र समाजवादको सिद्धान्त रहेको उल्लेख गरे। सामाजिक तथा आर्थिक रूपान्तरणका लागि सुशासन अपरिहार्य रहेको बताउँदै उनले भने, “गुड गभर्नेन्स नभई समाजवादको आधार तयार हुँदैन। हाम्रो सिद्धान्त, दर्शन र मार्गदर्शन यही हो।”
गुरुङले एमालेले बहुदलीय जनवादको आधारमा विकसित ‘विस्तृत लोकतन्त्र’ को अवधारणालाई आत्मसात गरेको उल्लेख गर्दै भने, “हामी यस्तो पार्टीका कार्यकर्ता हौं जसले राष्ट्रियता, लोकतन्त्र र समावेशी सामाजिक रुपान्तरणलाई अगाडि बढाउने जिम्मेवारी लिएको छ।”
उनले एमालेको विचार, नीति र मार्गदर्शन बोकेर हिँड्नेलाई नै ‘झोले’ भन्नुपर्ने भए त्यसमा गर्व गर्नुपर्ने बताए। “म राष्ट्रियताको झण्डा बोक्ने व्यक्ति हुँ, त्यसैले म एमालेको झोले हुँ,” उनले प्रष्ट पारे।
प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार












प्रतिक्रिया