काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पत्रकार दिलभूषण पाठकविरुद्ध जारी गरिएको पक्राउ पुर्जीको कडा शब्दमा भर्त्सना गरेका छन्।

हिल्टन होटल र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवासम्बन्धी सामग्री सार्वजनिक गरेपछि पाठकविरुद्ध पक्राउ अनुमति जारी भएको घटनाप्रति आपत्ति जनाउँदै श्रेष्ठले यसलाई प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यता विरुद्धको कार्यको संज्ञा दिएका छन्।

advertisement

श्रेष्ठले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘केवल समाचार प्रसारण गरेको आधारमा प्रतिष्ठित पत्रकार पाठकमाथि पक्राउ पुर्जी जारी गर्नु निरङ्कुशता र असहिष्णुताको प्रतीक हो। यसले प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यहरूलाई ठेस पुर्‍याएको छ। म यसको तीव्र भर्त्सना गर्दछु र पक्राउ पुर्जी तुरुन्त खारेज गर्न माग गर्दछु।’

उनले गलत वा अप्रामाणिक सूचना प्रसारण भए त्यसलाई सच्याउनु र जिम्मेवारी कायम गराउनु आवश्यक भए पनि त्यसको उपचार कानुनी प्रक्रिया—जस्तो कि खण्डन, प्रेस काउन्सिल वा अदालतमार्फत हुनुपर्ने उल्लेख गरे।

‘कहिलेकाहीँ सञ्चारमाध्यमबाट भ्रामक वा गैरजिम्मेवार समाचार आउन सक्छन्,’ श्रेष्ठले लेखेका छन्, ‘तर त्यस्ता समाचारको प्रतिवाद गर्न कानुनी र संस्थागत माध्यमहरू छन्। सीधै पक्राउ पुर्जी जारी गर्नु पूर्णतः अनुचित र लोकतान्त्रिक मान्यताविपरीत हो। यस्तो प्रवृत्ति तुरुन्त बन्द गरिनुपर्छ।’

श्रेष्ठको भनाइमा यो कदमले पत्रकारमाथि अनावश्यक दवाव सिर्जना गरेको छ र सरकार तथा सरोकारवालाहरूले प्रेस स्वतन्त्रताको सम्मान गर्दै यस्ता कदमहरूबाट टाढा रहनुपर्ने स्पष्ट सन्देश दिन आवश्यक छ।

प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com