काठमाडौं । प्रतिनिधिसभामा जारी अवरोध अन्त्य गर्न दुई बुँदे सहमतिकाे प्रयास तीव्र बनेको छ । नेकपा एमालेका सचिव योगेश भट्टराईका अनुसार, यसअघि प्रस्तावित दुई बुँदे मस्यौदालाई आधार बनाएर सहमतिमा पुग्ने प्रयास भइरहेको छ ।

बुधबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै भट्टराईले अवरोध हटाउन सहमति नजिक पुगिएको जानकारी दिए । उनका अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनलाई सरकारले पूर्ण सहयोग गर्ने र अध्यागमन प्रणालीमा देखिएका कमजोरी सुधार गर्न आवश्यक पहल गर्ने गरी दुई मुख्य बुँदामा सहमति खोजिएको हो ।

advertisement

विपक्षी दलका नेताहरू आज पनि संसद परिसरमै बसेर यही दुई बुँदे मस्यौदामाथि छलफलमा जुटेका छन् ।

यसअघि नेपाली कांग्रेस र माओवादी केन्द्रबीच तयार गरिएको मस्यौदामा पहिलो बुँदामा अख्तियारको अनुसन्धान सकिएसम्म सरकारले तथा संसद्ले सहयोग गर्ने स्पष्ट गरिएको छ । दोस्रो बुँदामा भने अनुसन्धानपछि २०६४ साल यता भिजिट भिसाका नाममा विदेश जाने क्रममा अपारदर्शी आर्थिक कारोबार भएको थियो वा थिएन भन्नेबारे अध्ययन गर्न सरकार आवश्यक संयन्त्र निर्माणमा अग्रसर हुने उल्लेख छ ।

यो मस्यौदाप्रति एमाले अहिले सकारात्मक बनेको छ । सुरुमा मौन जस्तै देखिएको एमाले अहिले सहमतिका लागि तयार भएको र सोही मस्यौदालाई अघि बढाउने निष्कर्षमा पुगेको सचिव भट्टराईले जनाए ।

तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने यो सहमतिमा चित्त बुझाउन तयार छैन । रास्वपाले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडानसहित छुट्टै पाँच बुँदे प्रस्ताव अघि सारेको छ । तर, उक्त प्रस्ताव सत्तापक्षले स्वीकार गरेको छैन ।

प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com