काठमाडौं । पत्रकार दिलभूषण पाठकमाथि समाचार प्रकाशनको आधारमा पक्राउ पुर्जी जारी गरेकोप्रति नेकपा (माओवादी केन्द्र) ले कडा आपत्ति जनाएको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रले सरकारले पत्रकारलाई पक्राउ गर्न खोज्नु प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्यविपरीत रहेको टिप्पणी गरेको हो।
विज्ञप्तिमा भनिएको छ, “यदि समाचार सामग्रीमा त्रुटि, पूर्वाग्रह वा तथ्यगत कमजोरी देखिएको हो भने त्यसको समाधान प्रेस काउन्सिलजस्ता नियामक निकायमार्फत खण्डन वा प्रतिवाद गर्ने लोकतान्त्रिक अभ्यास विद्यमान छ। तर, सरकारले प्रत्यक्ष रूपमा पक्राउ पुर्जी जारी गर्दै असहिष्णुता र दमनको बाटो अख्तियार गर्नु लोकतान्त्रिक मर्मसँग पूर्णतः विपरीत छ।”
माओवादी केन्द्रले यस्तो कार्यलाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर हमला भन्दै आलोचना गरेको छ। साथै, संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध सरकारको रवैया उभिएको आरोप पनि लगाएको छ।
माओवादी केन्द्रले पत्रकारिता क्षेत्रको स्वतन्त्रता र सम्मानको रक्षा गर्न सबै पक्ष जिम्मेवार र संवेदनशील बन्नुपर्ने आवश्यकतामा जोड दिएको छ।
प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहिबार












प्रतिक्रिया