काठमाडौं – भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा एक यात्रु चमत्कारिक रूपमा जीवित उद्धार भएका छन्। प्रहरीका अनुसार उक्त व्यक्ति विमानको सीट नम्बर ११ए मा बसेका थिए।
अहमदाबाद प्रहरी आयुक्त जी.एस. मलिकले घटनाबारे जानकारी दिँदै भने, “सीट नम्बर ११ए मा एक यात्रु जीवित अवस्थामा फेला परेका छन्। हाल उनलाई अस्पतालमा भर्ना गरिएको छ र उपचार भइरहेको छ। विमान बस्ती नजिकै खसेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान छ।”
भारतीय सञ्चार माध्यमहरूका अनुसार जीवित फेला परेका व्यक्ति ४० वर्षीय विश्वास कुमार रमेश हुन्। बेलायतका नागरिक विश्वासले दुर्घटनापछिको क्षण सम्झँदै भने, “उडान भएको झन्डै तीस सेकेन्डमै एक जोरको आवाज आयो र त्यसपछि विमान तल झर्न थाल्यो। सबै कुरा एकाएक भयो। जब म होशमा आएँ, वरिपरि शवहरू देखिन्थे। निकै डर लाग्यो, म तुरुन्तै त्यहाँबाट निस्किएँ। विमानका टुक्रा चारैतिर छरिएका थिए। कसैले मलाई समातेर एम्बुलेन्समा राख्यो र अस्पताल ल्यायो।”
विश्वास भारत पारिवारिक भेटघाटका लागि आएका थिए र आफ्ना दाजु ४५ वर्षीय अजय कुमार रमेशसँगै बेलायत फर्कंदै थिए। विश्वास विगत २० वर्षदेखि लन्डनमा बसोबास गर्दै आएका छन्। उनकी पत्नी र दुई सन्तान पनि त्यहीँ छन्।
दुर्घटनाप्रति बेलायतका राजा चार्ल्स तृतीय र महारानी कैमिलाले गहिरो दुःख व्यक्त गरेका छन्। उनीहरूले उक्त दुर्घटनाबाट स्तब्ध भएको प्रतिक्रिया दिएका छन्।
यसैबीच, गुजरात सरकारले विमानमा सवार यात्रुका आफन्तहरूलाई शवको पहिचानका लागि डीएनए नमुना उपलब्ध गराउन आग्रह गरेको छ। दुर्घटना अत्यन्तै भयावह भएको कारण धेरै शवहरू चिन्न कठिन भइरहेको जानकारी दिइएको छ।
प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहिबार













प्रतिक्रिया