काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध प्रहरीले गरेको बैंकिङ कसुरसम्बन्धी अनुसन्धान अपूर्ण रहेको निष्कर्ष निकालेको छ । विशेष सरकारी वकिल कार्यालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धान अपूरो देखिएपछि फाइल फिर्ता गरेको हो ।

प्रहरी अनुसन्धानअनुसार प्रसाईँले एउटा प्रयोजनका लागि लिएको ऋण अन्य प्रयोजनमा दुरुपयोग गरेका थिए । सीआईबीको हालसम्मको अनुसन्धानले उनले ३ वटा कम्पनीको नाममा लिएको करिब २७ करोड ५० लाख रुपैयाँ ‘राउण्ड ट्रिपिङ’ शैलीमा जटिल कारोबारमार्फत प्रयोग गरेको देखाएको छ ।
उक्त ऋण पूर्वाञ्चल क्यान्सर अस्पताल, होटल एट्रिअम प्रालि र युए मेडिको सप्लाईज एण्ड इक्विपमेन्ट प्रालिका नाममा लिइएको थियो ।

advertisement

प्रहरीले अनुसन्धान सकेर केही दिन अघि प्रतिवेदन पेश गरेको थियो, तर विशेष सरकारी वकिल कार्यालयले फाइल फिर्ता गर्दै थप अनुसन्धान गर्न भनेको हो । ब्युरोका एसएसपी होविन्द्र बोगटीका अनुसार, सरकारी वकिल कार्यालयले प्रसाईँकी पत्नी, छोरा र बुहारीको आर्थिक कारोबारसमेत जाँच गर्न निर्देशन दिएको छ ।
बोगटी भन्छन्, “परिवारका अन्य सदस्यहरूबारे पनि अनुसन्धान गर्न भनिएको छ ।”

विशेष सरकारी वकिल कार्यालयले प्रहरीलाई ६ बुँदामा आधारित निर्देशन दिएको छ ।

यसैबीच, चैत १५ मा काठमाडौँको तीनकुनेमा भएको ध्वंसात्मक प्रदर्शनमा संलग्न रहेको अभियोगमा मुख्य प्रतिवादी प्रसाईँलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीले बिहीबार राति थुनछेक बहसपछि यस्तो आदेश दिएका हुन् । त्यसपछि प्रसाईँलाई कारागार चलान गरिएको छ ।

प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com