काठमाडौं । भारतको गुजरात राज्यस्थित अहमदाबादमा बिहीबार (जेठ ३० गते) भयावह विमान दुर्घटना भएको छ। एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर (उडान संख्या एआई-१७१) लन्डनका लागि उड्ने क्रममा उडेको दुई मिनेटमै दुर्घटनामा परेको हो। दुर्घटनास्थलबाट हालसम्म २६५ जनाको शव निकालिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

उक्त विमानमा चालक दलका १२ सदस्यसहित २३० यात्रु सवार थिए। मृतकमध्ये १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगाली र एकजना क्यानेडियन नागरिक रहेको पुष्टि भएको छ। यीमध्ये एक यात्रुबाहेक सबैको मृत्यु भएको हो।

advertisement

विमान खसेको स्थान बी.जे. मेडिकल कलेज नजिकैको आवास क्षेत्र रहेकाले दुर्घटनामा स्थलमै रहेका २४ जना सर्वसाधारणको पनि ज्यान गएको पुष्टि भएको छ। तीमध्ये पाँचजना बी.जे. मेडिकल कलेजकै छात्रावासमा रहेका थिए। प्रारम्भिक विवरण अनुसार चार जना एमबीबीएस विद्यार्थी र एकजना चिकित्सककी श्रीमतीको मृत्यु भएको जनाइएको छ। होस्टेलमा दुर्घटनाको बेला ५० जना भन्दा बढी मानिस रहेका थिए भने अझै केही व्यक्ति हराइरहेका छन्।

घटनापछि उद्धार तथा शव पहिचान कार्य तीव्र गतिमा भइरहेको छ। स्थानीय प्रशासन, अग्निनियन्त्रक र राष्ट्रिय विपद् प्रतिकार्य बल (NDRF) को टोली घटनास्थलमा खटिएको छ। दुर्घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान भइरहेको जनाइएको छ। एयर इन्डिया र भारतको नागरिक उड्डयन मन्त्रालयले घटनाप्रति दुःख व्यक्त गर्दै विस्तृत विवरण चाँडै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन्।

 

प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com