नयाँदिल्ली । गुजरातको अहमदाबादमा बिहीबार दिउँसो भएको भीषण विमान दुर्घटनाबाट आश्चर्यजनक रूपमा ज्यान जोगाउन सफल एक्ला यात्रु रमेश विश्वास कुमारलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अस्पतालमै पुगेर भेट गरेका छन्।

एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर उडान (एआई-१७१) सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनका लागि उडेको केही समयमै दुर्घटनाग्रस्त भएको थियो। सो दुर्घटनामा सवार २३० यात्रु र चालक दलका सदस्यमध्ये रमेश मात्रै जीवित बच्न सफल भएका हुन्। उनी अहिले अहमदाबादको सिभिल अस्पतालमा उपचाररत छन्।

advertisement

रमेशले डीडी न्यूजसँगको कुराकानीमा प्रधानमन्त्री मोदीले अस्पतालमै आएर स्वास्थ्य अवस्था बारे जानकारी लिएको बताए। “प्रधानमन्त्रीले मलाई सोध्नुभयो— घटना कसरी भयो? तिमी कसरी बच्यौ?” रमेशले भावुक हुँदै भने।

दुर्घटनाको बेला रमेश विमानको ११ए सिटमा बसेका थिए। विमान खसेपछि उनी आफैंले आपतकालीन ढोका खोलेर बाहिर निस्कन सफल भएका थिए। उनले भने, “म अझै पनि विस्मित छु— म कसरी बाँच्न सकें? दुर्घटनाको क्षणमा मेरो छेउको ढोका चुँडिएर छुट्टियो। मैले सिट बेल्ट खोलें र तुरुन्तै बाहिर हाम्फालें। त्यसैले म जलिनँ।”

प्रधानमन्त्री मोदीले रमेशलाई हिम्मत नहार्न र छिट्टै निको हुन शुभकामना दिएका छन्। साथै, उनले दुर्घटनाको विस्तृत अनुसन्धानका लागि आवश्यक निर्देशनसमेत दिएका छन्।

 

प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com