काठमाडौं । इसराइलले शुक्रबार बिहान इरानमाथि भीषण सैन्य आक्रमण गरेपछि इरानले पनि तीव्र जबाफ दिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार, इरानले दर्जनौं ड्रोनमार्फत इसराइलमा प्रतिकार गरेको हो।

इसराइली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनका अनुसार इरानले करिब १०० ड्रोन प्रहार गरेको थियो। तर तीमध्ये अधिकांशलाई इसराइलको हवाई सुरक्षा प्रणालीले निष्क्रिय तुल्याएको दाबी गरिएको छ।

advertisement

इसराइली आक्रमणबाट इरानको सैन्य संरचना र वैज्ञानिक क्षेत्रलाई ठूलो क्षति पुगेको जनाइएको छ। इसराइली हमलामा इस्लामिक रिभोलुसन गार्ड्स (आईआरजिसी) का प्रमुख जनरल हुसेन सलामी, इरानी सेनाका प्रमुख मेजर जनरल मोहम्मद बघेरी, उपप्रमुख जनरल घोलमली रसिद लगायत उच्च सैन्य अधिकारीहरू मारिएको जानकारी प्राप्त भएको छ।

त्यस्तै, आणविक हतियार विकासमा संलग्न वैज्ञानिकहरू समेत आक्रमणको चपेटामा परेका छन्। अमेरिकी पत्रिका न्युयोर्क टाइम्स अनुसार, इरानको आणविक ऊर्जा संगठनका पूर्व प्रमुख फेरेडोन अब्बासी र इस्लामिक आजाद विश्वविद्यालयका अध्यक्ष तथा भौतिकशास्त्री मोहम्मद मेहदी तेहरानचीको ज्यान गएको छ।

इरानले इसराइलको आक्रमणलाई युद्ध घोषणा सरहको आपराधिक कार्यको संज्ञा दिँदै जबाफमा कठोर प्रतिकार गर्ने चेतावनी दिएको छ। इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले भनेका छन्, “यहूदी शासकले अपराध गरेर आफूलाई पीडादायी भाग्यका लागि तयार पारेका छन्। यसको परिणाम उनीहरूले चाँडै देख्नेछन्।”

इसराइलले भने देशभर आपतकाल घोषणा गर्दै सुरक्षा तयारी कडा बनाएको छ। विद्यालयहरू बन्द गरिएका छन्, अस्पतालहरूमा अत्यावश्यक बाहेकका सेवा रोकिएको छ र नागरिकलाई घरमै बस्न अपिल गरिएको छ। भेला र सार्वजनिक कार्यक्रममाथि प्रतिबन्ध लगाइएको छ।

इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानी आणविक कार्यक्रमले इसराइलको सुरक्षामा गम्भीर चुनौती सिर्जना गरेको भन्दै कारबाही गर्नु अपरिहार्य भएको बताएका छन्। उनले इरानको आणविक भट्टी, हतियार उत्पादन केन्द्र र सम्बद्ध वैज्ञानिकहरूलाई निशाना बनाइरहेको बताएका छन्।

यस आक्रमणअघि नेतन्याहूले अमेरिका सरकारसँग परामर्श गरेका थिए। अमेरिकी विदेशमन्त्री मार्को रूबिओले घटनामा अमेरिका संलग्न नरहेको स्पष्ट पार्दै, इरानलाई मध्यपूर्वमा रहेका अमेरिकी सैन्य शिविरहरूमा हमला नगर्न कडा चेतावनी दिएका छन्। “इरानले यदि हाम्रो सैन्य अखडामा हमला ग¥यो भने त्यसको जबाफ चर्को हुनेछ,” रूबिओले बताएका छन्।

घटनापछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससहित ओमान, साउदी अरब लगायतका राष्ट्रहरूले चासो व्यक्त गर्दै आक्रमणको निन्दा गरेका छन्। एसियाली तथा युरोपेली मुलुकहरूले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन्।

विश्लेषकहरूले भने यस घटनाले सम्पूर्ण मध्यपूर्वमा गम्भीर तनाव बढाउने र क्षेत्रीय युद्धको सम्भावना बलियो बनाउने चेतावनी दिएका छन्।

प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com