अहमदाबाद । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार अहमदाबादमा भएको भीषण विमान दुर्घटनास्थलको अवलोकन गरेका छन्। बिहीबार लन्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रीमलाइनर विमान (उडान नम्बर १७१) उडान भरेको केही मिनेटमै मेघानीनगरस्थित मेडिकल कलेजको भवनमा ठोक्किँदा २४० भन्दा बढीको ज्यान गएको हो।

प्रधानमन्त्री मोदीले घटनास्थलको निरीक्षणपछि सिभिल अस्पताल पुगेर घाइतेहरूको अवस्था बुझ्नुभयो र पीडित तथा मृतकका परिवारजनसँग भेट गर्नुभयो। भारतीय सञ्चारमाध्यमहरूका अनुसार अस्पतालमा मृतकहरूको पहिचानका लागि डीएनए परीक्षण तथा पोस्टमार्टम प्रक्रिया जारी छ।

advertisement

दुर्घटनाग्रस्त विमानमा २४२ जना सवार थिए। तिनमध्ये १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगिज र १ जना क्यानडाली नागरिक थिए। दुर्भाग्यवश, यात्रुहरूमध्ये भारतीय मूलका बेलायती नागरिक विश्वास कुमार रमेशमात्र जीवित रहेका छन्। उनी सिभिल अस्पतालमा उपचाररत छन्।

दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको पनि मृत्यु भएको पुष्टि भएको छ। विमान मेडिकल कलेजको छात्रावास तथा कर्मचारी आवासमा ठोक्किँदा पाँच जना चिकित्साशास्त्रका विद्यार्थी र कर्मचारीको पनि ज्यान गएको छ।

घटनाको अनुसन्धान तीव्र गतिमा अगाडि बढाइएको छ। विमानको ब्ल्याक बक्स तथा ककपिट संवाद रेकर्डर खोज्ने कार्य जारी छ। गुजरातको आतंकवाद विरोधी दस्ताले मलबाबाट डिजिटल भिडियो रेकर्डर फेला पारेको छ, जसलाई फरेन्सिक विश्लेषणका लागि पठाइएको छ। भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरो (AAIB) र अमेरिकाको राष्ट्रिय यातायात सुरक्षा बोर्ड (NTSB) ले संयुक्त रूपमा दुर्घटनाको कारण पत्ता लगाउने प्रयास गरिरहेका छन्।

यस दुर्घटनामा दुःखी हुँदै टाटा समूहले मृतकका परिवारलाई एक करोड रुपैयाँ क्षतिपूर्ति दिने तथा एक्ला बाँच्न सफल यात्रुको सम्पूर्ण उपचार खर्च बेहोर्ने घोषणा गरेको छ। साथै, दुर्घटनामा क्षतिग्रस्त मेडिकल कलेज भवनको पुनर्निर्माणको जिम्मा पनि समूहले लिने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com