इटहरी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको सरकार अत्यन्त प्रभावकारी र जनतालाई ‘वाह!’ भन्न बाध्य बनाउने गरी चल्नुपर्ने आवश्यकता औंल्याएका छन्। शुक्रबार इटहरीमा आयोजित नेपाल तामाङ घेदुङ संघको कोशी प्रदेशस्तरीय अधिवेशनलाई सम्बोधन गर्दै उनले देशले प्राप्त गरेका अवसरहरूको पूर्ण सदुपयोग गर्न सरकार र जिम्मेवार पदाधिकारीहरूलाई सचेत गराएका हुन्।
‘अब सरकार युद्ध वा महामारीको समयझैं तीव्र गतिमा, प्रभावकारी ढंगले काम गर्ने अवस्थामा जानुपर्छ,’ थापाले भने, ‘समय सीमित छ, त्यसैले प्रधानमन्त्रीदेखि वडा अध्यक्षसम्म सबैले आफ्नो जिम्मेवारीप्रति गम्भीर र जवाफदेही हुनुपर्छ।’
उनले हाल विश्वमा बढ्दो अस्थिरता — इजरायल–इरान, भारत–पाकिस्तान, अमेरिका–रुस तथा अमेरिका–चीनबीचको तनावलाई नेपालका लागि अवसरका रूपमा लिनुपर्ने बताए। ‘यस्तो अस्थिरताले नेपालजस्तो सानो मुलुकलाई पनि चनाखो भए अवसर सृजना गर्न सकिन्छ,’ उनले भने।
थापाले भारत–बंगलादेश तनावकै कारण अहिले बंगलादेशी नागरिकहरू स्वास्थ्य उपचारका लागि भारतको साटो नेपाल आउन थालेको उदाहरण दिँदै, यो अवस्थामा नेपालले सेवा क्षेत्र विस्तार गरेर आर्थिक फाइदा लिनुपर्ने धारणा राखे।
राजनीतिक प्रसङ्गमा उनले पार्टीले जब जिम्मेवारी दिएर कसैलाई पठाउँछ, उसले इमानदार, कर्मठ र सेवामुखी भएर काम गर्नुपर्ने बताए। उनले भने, ‘यदि कसैलाई संसदमा राजनीतिक रूपमा घेर्ने प्रयास भयो भने पार्टी साथ दिन्छ, तर कसैले गल्ती गर्यो भने त्यो गल्तीको भार व्यक्तिगत रूपमा आफैंले बोक्नुपर्छ।’
गगन थापाले युवाहरूको विषयमा बोल्दै देशको भावी आधार तिनै रहेको उल्लेख गरे। उनले भने, ‘देश अहिले युवाहरूको हो, उनीहरूलाई प्रेरणा दिनु सरकार र नेताहरूको जिम्मा हो। काम गर्न नसक्ने हो भने पदमा बस्नुको कुनै अर्थ छैन।’
देशका लाखौं युवाले विदेशमा श्रम गरेर पठाएको रेमिट्यान्सको सदुपयोगका लागि राज्यले स्पष्ट योजना बनाउनुपर्नेमा उनले जोड दिए। ‘अब १७–१८ वर्षपछि नेपाल युवा प्रधान देश रहने छैन, त्यसैले अहिलेको रेमिट्यान्सको सही सदुपयोग गर्न नीतिगत व्यवस्था आवश्यक छ,’ उनले भने, ‘लुटिएको धन फुपुको श्राद्धजस्तो गरेर उडाउनु हुँदैन।’
थापाले जिम्मेवार पदमा बसेकाहरूले राष्ट्र र जनताको हितमा काम गर्ने स्पष्ट दिशा र नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन्।
प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार













प्रतिक्रिया