काठमाडौं । तेहरानमाथि इजरायलले शुक्रबार गरेको हवाई आक्रमणमा कम्तीमा ७८ जना इरानी नागरिकको ज्यान गएको र ३२० भन्दा बढी घाइते भएका छन्। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपतकालीन बैठकमा बोल्दै इरानका स्थायी प्रतिनिधि अमीर–सईद इरावानीले उक्त जानकारी दिएका हुन्।

इरावानीका अनुसार मारिएका र घाइतेहरूमा धेरैजसो सर्वसाधारण रहेका छन्। उनले इजरायलले जानाजानी नागरिक बस्ती, आवासीय भवन तथा आणविक पूर्वाधारहरूमा आक्रमण गरेको आरोप लगाए। उनले इजरायली आक्रमणलाई ‘नरसंहारपूर्ण र आपराधिक’ भन्दै कडा निन्दा गरे।

advertisement

इजरायलले यो आक्रमण इरानको आणविक कार्यक्रमप्रति चिन्ता व्यक्त गर्दै गरेको हो। विगत कैयौं वर्षदेखि इजरायलले इरानमाथि हमला गर्ने चेतावनी दिँदै आएको थियो। अमेरिकी प्रशासनहरूले यस्तो आक्रमण रोक्न प्रयास गरे पनि यसपटक इजरायलले इरानमाथि सोझै हमला गरेको हो।

आक्रमणपछि इरानले पनि इजरायलको व्यापारिक राजधानी तेल अविभतर्फ लामो दूरीका मिसाइलहरू प्रहार गरेको थियो। इजरायली प्यारामेडिक सेवाका अनुसार ती मिसाइल आक्रमणमा कम्तीमा ३४ जना घाइते भएका छन्।

इरानी सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले इजरायलको कारबाहीलाई ‘ठूलो अपराध’ भन्दै त्यसको जवाफ दिइने प्रतिबद्धता जनाएका छन्। उनले भने, “इजरायल यो जघन्य अपराध गरेर उम्कन सक्दैन।”

इरावानीले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई सम्बोधन गर्दै अमेरिकालाई समेत इजरायली आक्रमणमा प्रत्यक्ष संलग्न रहेको आरोप लगाए। उनका अनुसार अमेरिकाले इजरायललाई हतियार र रणनीतिक सहयोग प्रदान गरेर यो हमलालाई सहज बनाएको हो।

इरानी पक्षले सुरक्षा परिषद्समक्ष इजरायलको आक्रमणको निन्दा गर्न र उसलाई अन्तर्राष्ट्रिय कानुनी दायरामा ल्याउन जोडदार माग राखेको छ। यो घटनाले पश्चिम एसियामा झनै तनाव चुलिने संकेत देखिएको छ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com