काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेश प्रमुखको व्यवस्था गर्ने प्रस्ताव अघि सारेको छ।

‘वैकल्पिक राजनीतिको अर्जुन दृष्टि’ शीर्षकको कार्यपत्र सार्वजनिक गर्दै नयाँ शक्तिले केन्द्रमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेशस्तरमा प्रत्यक्ष निर्वाचित प्रदेश प्रमुखको व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गरेको हो।

advertisement

कार्यपत्रमा भनिएको छ, “हामीले अभ्यास गरिरहेको लोकतन्त्र सीमित र औपचारिक स्वरूपको मात्र छ। कानुनले नागरिकलाई सार्वभौमसत्ता सम्पन्न मानेपनि व्यवहारमा धन, सत्ता, संगठन र शक्ति भएका वर्गहरू नै राज्य संरचना र समाजमा हावी छन्। सर्वसाधारणको भूमिका पाँच वर्षमा एकचोटि मतदान गर्ने अधिकारमा मात्र सीमित भएको छ।”

नागरिकलाई व्यवहारमा पनि सार्वभौमसत्ता सम्पन्न नबनाई लोकतन्त्र मजबुत, सक्षम र सफल हुन नसक्ने निष्कर्ष निकाल्दै लोकतन्त्रको अझ व्यापक लोकतान्त्रीकरण गर्नुपर्ने उल्लेख गरिएको छ। त्यसका लागि संविधान संशोधन र आवश्यक कानुनी सुधारमार्फत वैकल्पिक राजनीतिक शक्तिहरू एकताबद्ध भई दबाब सिर्जना गर्नुपर्ने पार्टीको धारणा छ।

पार्टीले केन्द्र र प्रदेश दुवै तहमा बहु-सदस्यीय समानुपातिक प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेको छ। साथै, कार्यपालिका र व्यवस्थापिकाबीच स्पष्ट शक्ति विभाजन गरिनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले स्वतन्त्र रूपमा विज्ञ तथा योग्य व्यक्तिहरूलाई समावेश गरी मन्त्रिपरिषद् गठन गर्न सक्ने र सांसदहरू मन्त्री बन्न नपाउने प्रावधान राखिनुपर्ने उल्लेख गरिएको छ। सांसदहरूको भूमिका विधायिकामा सीमित रहनुपर्ने धारणा पनि कार्यपत्रमा राखिएको छ।

बहुजातीय, बहुभाषिक मुलुक नेपालमा वर्तमान संघीय संरचनामा देखिएका कमजोरी सच्याउँदै सामर्थ्य, पहिचान र अधिकारसहितको संघीय पुनर्संरचना गर्नुपर्ने प्रस्ताव समेत कार्यपत्रमा समावेश गरिएको छ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com