काठमाडौं । अहमदाबादमा भएको भयावह विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या २७५ पुगेको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार हालसम्म २७० भन्दा बढी शवको पोस्टमार्टम सम्पन्न भइसकेको छ भने बाँकीको डीएनए परीक्षण प्रक्रिया जारी छ। दुर्घटनास्थलमा भग्नावशेष हटाउने काम अझै नसकिएको जनाइएको छ।

गत बिहीबार दिउँसो १:३८ बजे एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान अहमदाबाद विमानस्थलको रनवे २३ बाट लन्डनका लागि उड्नासाथ केही सेकेन्डमै असन्तुलित भएर विमानस्थल बाहिरको घना बस्तीमा खसेको थियो। उक्त विमानमा चालक दलका सदस्यसहित २४२ जना सवार थिए, जसमध्ये एक मात्र यात्री जीवित रहेका छन्।

advertisement

विमान खसेको स्थान बीजे मेडिकल कलेजको छात्रावास क्षेत्र भएकोले भवनमा रहेका चिकित्सक र कर्मचारीसमेत गरी थप ३४ जनाको पनि मृत्यु भएको पुष्टि गरिएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार, विमान भवनमाथि खसेपछि केही समयमै ठूलो विस्फोट भयो र आगलागी फैलिएपछि आसपासका मानिसहरू समेत जलेर मृत्यु भए।

भारत सरकारले यस भीषण दुर्घटनाको औपचारिक अनुसन्धान प्रक्रिया सुरु गरिसकेको छ। प्रारम्भिक अनुसन्धानले इन्जिनमा आएको प्राविधिक समस्याका कारण विमान नियन्त्रण बाहिर गएको आशंका गरिएको छ, यद्यपि विस्तृत विवरण आउन बाँकी नै छ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com