काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित ६७ तले आवासीय गगनचुम्बी भवन ‘टाइगर टावर’मा शनिबार बिहान भीषण आगलागी भएको छ। गल्फ न्यूजको रिपोर्ट अनुसार, दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन।
शनिबार बिहान करिब ९ः३० बजे सुरु भएको आगलागीपछि भवनमा रहेका ३ हजार ८२० जनालाई आपतकालीन उद्धार टोलीले सकुशल बाहिर निकाल्न सफल भएको छ। ७६४ वटा अपार्टमेन्ट रहेको यस भवनमा आगलागी भएको थाहा पाउनासाथ दुबई सिभिल डिफेन्स, प्रहरी र आपतकालीन स्वास्थ्यकर्मीहरूको टोली तुरुन्तै घटनास्थलमा खटिएको थियो।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा धुवाँले ढाकिएको भवनबाट मानिसहरू आफ्नो अनुहार कपडाले छोप्दै भागिरहेको देखिएको छ। आगलागीको कारण अहिलेसम्म पुष्टि भइसकेको छैन।
स्थानीय प्रशासनले विस्थापित भएकाहरूको व्यवस्थापन भवन निर्माण कम्पनीसँग सहकार्य गर्दै अघि बढाएको छ।
यो भवनमा यसअघि पनि यस्तै आगलागीको घटना भइसकेको छ। सन् २०१५ मा टाइगर टावरकै ४७औं तलाको भान्साबाट सुरु भएको आगो ४८औं तलासम्म फैलिएको थियो। त्यस्तै, यसै भवनको छेउमै रहेको प्रसिद्ध ‘द टोर्च टावर’मा पनि सन् २०१५ र २०१७ मा आगलागीका घटनाहरू भइसकेका थिए।
यसपटकको आगलागीमा तत्काल उद्धारको संयन्त्र प्रभावकारी रुपमा परिचालन गरिएकाले ठूलो दुर्घटना हुनबाट जोगिएको बताइएको छ।
प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार













प्रतिक्रिया