एजेन्सी । अमेरिका र इरानबीच हुने भनिएको वार्ता रद्द भएको छ। इरानको परमाणु कार्यक्रम रोक्ने विषयमा अमेरिकाले उसँग दुई महिनादेखि वार्ता गर्दै आएको थियो।
आइतबार छैटौं पटक दुई देशका अधिकारीहरूबीच वार्ता बस्ने भन्ने यसअघि नै तय भएको थियो। दुई देशबीचको वार्तामा ओमानले मध्यस्थता गरिरहेको थियो। मस्कटमा हुने भनिएको छैटौं चरणको वार्ता रद्द भएको ओमानका विदेशमन्त्री बद्र अल्बुसैदीले वार्ता स्थगित भएको बताएका छन्।
यद्यपि वार्ता र संवादबाट मात्रै शान्ति स्थापना हुनेमा उनले जोड दिएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनका अधिकारीहरुले पनि इरानसँग आइतबार हुने भनिएको वार्ता रद्द भएको बताएका छन्।
शुक्रबार इसराइलले आक्रमण गरेलगत्तै इरानले अमेरिकासँगको वार्ताको कुनै अर्थ नरहेको बताएको थियो। इसराइली आक्रमणमा परी अमेरिकासँग वार्तामा सहभागी भएका इरानी अधिकारी पनि मारिएका छन्।
इरानी सर्वोच्च नेता आयातोल्लाह खामेनीका निकटमध्येका अली शमखानी मारिएको अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सले जनाएको छ। मस्कटमा वार्ता गर्नका लागि खामेनीले बनाएको टोलीमा शमखानी पनि सहभागी थिए।
केही अन्तर्राष्ट्रिय मिडियाहरुले शमखानी प्रत्यक्ष वार्तामा भने सहभागी नरहेको बताएका छन्। उनी केवल वार्ताको ब्रिफिङ लिएर इरानी टोलीलाई निर्देशन र परामर्श दिन्थे भनिएको छ।
शमखानी इरानका प्रमुखमध्येका नेता पनि रहेको बताइएको छ। उनी पूर्व नौसेना कमान्डर पनि हुन्। उनी खामेनीका प्रमुख सल्लाहकार पनि थिए। शुक्रबारको हमलापछि इरानले अमेरिकासँगको वार्ताको औचित्य नरहेको भनेको हो।
प्रकाशित मिति: १ असार २०८२, आइतबार













प्रतिक्रिया