काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि तीव्र व्यंग्य गर्दै एक कविता सार्वजनिक गरेका छन्। शाहीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सो कवितामा दाहालप्रति अविश्वास प्रकट गर्दै सत्ता मोहले रङ र बोली फेर्ने ‘छेपारो’को उपमा दिएका छन्।
शाहीले प्रचण्डको विश्वसनीयता कुकुरको पुच्छर सिधा हुने कल्पनासँग तुलना गर्दै लेखेका छन्, “कुकुरको पुच्छर सिधा हुन्छ भन्नु र प्रचण्डको विश्वास गर्नु एउटै कुरा हो”। उनका अनुसार, दाहालमा स्थिरता छैन, सत्ता प्राप्तिका लागि उनी बारम्बार बोली र धारणा परिवर्तन गर्ने स्वार्थपरक प्रवृत्तिका नेता हुन्।
शाहीको उक्त कविता शुक्रबार संसद् अवरोध अन्त्य गर्न सत्तारुढ दल र प्रमुख प्रतिपक्षी माओवादी केन्द्रबीच भएको दुई बुँदे सहमतिप्रति लक्षित छ। उनले उक्त सहमतिलाई विश्वास गर्न नसकिने भन्दै व्यंग्य गरेका हुन्।
कवितामार्फत शाहीले प्रचण्डको विगतदेखि वर्तमानसम्मको राजनीतिक यात्रामा मूल मूल्य र आदर्श गुमिएको उल्लेख गरेका छन्। ‘कहिले क्रान्ति र परिवर्तनका कुरा गर्थे, अहिले सत्ता र कुर्सीकै भरमा टिकिरहेका छन्,’ भन्दै उनले दाहालको राजनीतिक चरित्रप्रति गम्भीर प्रश्न उठाएका छन्।
शाहीले रास्वपा नेता रवि लामिछाने र उनको दल राष्ट्रिय स्वतन्त्र पार्टीसमेत प्रचण्डसँगको सहकार्यका कारण राजनीतिक दिशाहीनतामा पुगेको टिप्पणी गरेका छन्। कविताको एक हरफमा उनले लेखेका छन्, “प्रचण्डको फेर समाउँदा रवि दाइ थुनिए, प्रचण्डको साथ लिँदा रास्वपावाला चिप्लिए।”
प्रमुख सचेतक शाहीको यो व्यंग्यात्मक प्रहार सत्ताको समीकरणमा देखिएको पछिल्लो उलटफेर र विश्वासको संकटप्रति संकेत गरिएको स्पष्ट देखिन्छ। कविता शैलीमा भए पनि शाहीले गहिरो राजनीतिक सन्देश दिएका छन् – कि सत्ता र सिद्धान्तबीचको दूरी अझ बढ्दो छ।
यस्तो छ शाहीको कविता :
प्रचण्ड र छेपारो !
फेर्छ छेपारोले रङ,
परिस्थिति अनुसार।
प्रचण्डले फेर्छन् बोली,
कुर्सीको मोह अनुसार।।
सुरुमा क्रान्ति, परिवर्तनको नारा,
अहिले सत्ता, र कुर्सीकै साहारा।
प्रचण्डको फेर समाउँदा रबि दाइ थुनिए
प्रचण्डको साथ लिँदा रास्वपावाला चिप्लिए।।
कुकुरको पुच्छर सिधा हुन्छ भन्नु र
प्रचण्डको विश्वास गर्नु एउटै हो ।।
प्रकाशित मिति: १ असार २०८२, आइतबार













प्रतिक्रिया