काठमाडौं । आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अझैसम्म सुरु हुन सकेको छैन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोध कायमै रहेपछि बैठक सुचारु हुन ढिलाइ भएको संसद् सचिवालयले जनाएको छ।

संसदको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले दुवै दलका शीर्ष नेतासँग छुट्टाछुट्टै छलफल गरेका छन्। सभामुखले रास्वपाका कार्यवाहक अध्यक्ष डीपी अर्यालसँग बानेश्वरस्थित आफ्नै कार्यकक्षमा भेटवार्ता गरेका थिए। छलफलमा उनले संविधानले तोकेको समयसीमाअनुसार बजेटमाथिको छलफल तत्काल सुरु गर्नैपर्ने बाध्यता रहेको भन्दै अवरोधको स्वरूप परिवर्तन गर्न आग्रह गरेका थिए।

advertisement

सभामुखले संसदको गरिमा जोगाउन सबै दलको सहयोग आवश्यक भएको उल्लेख गर्दै मर्यादित संसदीय अभ्यासको अपेक्षा पनि गरेका थिए। जवाफमा कार्यवाहक अध्यक्ष अर्यालले रास्वपाको अवरोध यथावत् रहने बताए। तर उनले संसदको मर्यादा कायम राख्ने विषयमा आफ्नो पार्टी पनि प्रतिबद्ध रहेको स्पष्ट पारे।

सभामुखले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग टेलिफोन संवाद गरेका थिए। सो क्रममा उनले संविधानजन्य बाध्यतालाई ध्यानमा राखी संसद अवरुद्ध नराख्न आग्रह गरेका थिए। सभामुखले राप्रपालाई आफ्ना माग तथा मुद्दाहरू संसदमै उठाउने वातावरण तयार गर्न आग्रह गर्दै सहकार्यको अपिल गरेका थिए।

सभामुखसँगको छलफलपछि रास्वपा अहिले आन्तरिक बैठकमा जुटेको छ। रास्वपाले केही समय पर्खन अनुरोध गरेकाले संसद बैठक सुरु हुन ढिलाइ भएको हो। बैठक कहिले सुरु हुन्छ भन्ने विषयमा अहिले पनि अन्योल कायमै छ।

प्रकाशित मिति: १ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com