काठमाडौं । नेपाली पूँजी बजारमा पारदर्शिता, सुरक्षात्मक व्यवस्था र लगानीकर्ताको विश्वास अभिवृद्धि गर्नका लागि बिआइसिएम कम्पनीले एमल/ सिएफटि र कम्प्लायन्स” विषयक एक दिवसीय विशेष तालिम आयोजना सम्पन्न गरेको छ। काठमाण्डौको बानेश्वरस्थित अल्फा हाउसमा सम्पन्न उक्त तालिममा स्टक ब्रोकर तथा पूँजी बजार क्षेत्रमा कार्यरत कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
उक्त तालिममा सम्पत्ति शुद्धीकरण निवारण र आतंकवाद वित्तीयकरण रोकथाम सम्बन्धी विषयहरूमा विस्तृत जानकारी प्रदान गरिएको थियो। साथै, कम्प्लायन्स प्रणालीलाई मजबुत बनाउने अभ्यासगत तथा कानुनी पक्षहरूबारे पनि छलफल गरिएको थियो।
कार्यक्रमका प्रमुख प्रशिक्षक नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक एवं विशेषज्ञ श्री प्रदीप भट्टराई रहेका थिए भने धितोपत्र बोर्ड (सेबोन) का प्रतिनिधिले समेत प्रशिक्षणमा सहजीकरण गरेका थिए। प्रशिक्षकहरूले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र अन्य नियमनकारी निकायहरूबाट जारी भएका कानुन, निर्देशिका तथा व्यवहारिक कार्यान्वयनका महत्वपूर्ण पक्षहरूमा सहभागीहरूलाई विस्तृत जानकारी प्रदान गरे।
उक्त तालिममा मनी लन्डरिङ निवारण ऐन, २०६४, राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाई को निर्देशन, तथा धितोपत्र बोर्डबाट जारी कार्यविधिहरूको पालना आवश्यक रहेको विषयमा विशेष जोड दिइएको थियो। साथै, ग्राहकको पहिचान, ग्राहकको विस्तृत अध्ययन तथा संकास्पद कारोबार प्रतिवेदन अनिवार्य रूपमा कार्यान्वयन गर्नु पर्ने आवश्यकता र त्यसको प्रभावकारीता बारे सहभागीहरूलाई सचेत गराइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्रोग्रेसिभ फाइनान्स कम्पनीका सञ्चालक श्री प्रज्वल कुमार दाहालले तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए।
बीआईसीएम कम्पनीले विभिन्न संघ–संस्थाहरूलाई आवश्यक तालिम, डिजिटल मार्केटिङ सेवा तथा मानव स्रोत व्यवस्थापनसम्बन्धी परामर्श र समाधान प्रदान गर्दै आएको छ। कम्पनीका अध्यक्ष तथा पुर्व बैंकर शेखर राज बस्ताकोटीको नेतृत्वमा राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा क्षेत्र, निजामती सेवा, कानुन व्यवसाय र अन्य विभिन्न क्षेत्रका अनुभवी विज्ञहरू संलग्न रहेका छन्।
कार्यक्रमका समापनमा बीआईसीएम कम्पनीका कार्यकारी सञ्चालक हरिकृष्ण दाहालले क्यापिटल मार्केटको मजबुतीकरण र सुरक्षित प्रणाली विकासका लागि यस्ता तालिमहरू निरन्तर रुपमा सञ्चालन गरिने जानकारी दिनु भएकाे हाे । तालिमले पूँजी बजारमा पारदर्शिता कायम गर्न, अवैध स्रोतबाट आएको रकमलाई वैध देखाउने प्रयासलाई रोक्न तथा समग्र बजारको विश्वसनीयता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: १ असार २०८२, आइतबार













प्रतिक्रिया