काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा शब्दमा चेतावनी दिएका छन् । उनले अमेरिकामाथि कुनै पनि प्रकारको आक्रमण भए त्यसको जवाफमा अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग हुने दाबी गरेका छन् ।

ट्रम्पले आफ्ना विचार सामाजिक सञ्जाल ट्रुथ सोसियल मा व्यक्त गर्दै, हालै इजरायलले इरानमाथि गरेको सैन्य कारबाहीमा अमेरिकाको कुनै भूमिका नरहेको स्पष्ट पारेका छन् । उनले लेखेका छन्, “इरान र इजरायलबीच सहमति सम्भव छ, जसले यो भयावह रक्तपात रोक्न सक्छ ।”

advertisement

गत शुक्रबारदेखि इजरायलले ‘अपरेशन राइजिङ लायन’ नामक अभियानअन्तर्गत इरानका आणविक तथा सैन्य संरचनाहरूमाथि आक्रमण सुरु गरेको छ । इरानी सरकारी स्रोतका अनुसार, उक्त आक्रमणमा हालसम्म ७८ जनाको मृत्यु भएको छ भने ३२० भन्दा बढी घाइते भएका छन् ।

यसको प्रतिकारस्वरूप, शनिबार राति इरानले इजरायलमाथि मिसाइल र ड्रोन आक्रमण गरेको छ । पछिल्लो विवरणअनुसार, इजरायलमा १३ जनाको ज्यान गएको र २०० भन्दा बढी घाइते भएका छन् । हालसम्म दुबै मुलुकको आक्रमणमा कूल ९१ जनाले ज्यान गुमाइसकेका छन् ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले इजरायलको कारबाहीमा अमेरिका पनि संलग्न रहेको आरोप लगाएका छन् । तर, ट्रम्पले उक्त दाबी अस्वीकार गर्दै, “यदि इरानले अमेरिकी चासोविरुद्ध कुनै कदम चाल्यो भने अमेरिकाले आफ्नो सम्पूर्ण सैन्य शक्ति प्रयोग गर्नेछ,” भनेर चेतावनी दिएका छन् ।

ट्रम्पले द्वन्द्व अन्त्य गर्न इरान–इजरायलबीच वार्ता गराउन सकिने पनि बताएका छन् । “हामी सहजै दुबै देशबीच सम्झौता गराउन सक्छौं, जसले यो हिंसात्मक द्वन्द्वको अन्त्य गर्न सक्छ,” उनले भने ।

यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र ट्रम्पबीच शनिबार फोन संवाद भएको छ । संवादमा दुवैले इरानको आणविक कार्यक्रमबारे वार्ताको आवश्यकता र क्षेत्रीय तनाव अन्त्यको उपायबारे छलफल गरेका थिए । पुटिनले पनि इरानलाई वार्तामा आउन आह्वान गरेका छन् ।

युरोपेली मुलुकहरू जर्मनी, फ्रान्स र बेलायतले पनि इरानलाई तत्काल वार्तामा बस्न आग्रह गरेका छन् । जर्मन विदेशमन्त्री अन्नालेना बेयरबकले इरान वार्तामा सहमत भए द्वन्द्व नियन्त्रणमा आउने आशा व्यक्त गरेकी छन् । तर, इजरायली आक्रमणका कारण ओमानमा तय भएको वार्ता स्थगित भएको छ । इजरायलले भने इरानको आणविक खतरा पूर्णरूपमा समाप्त नभएसम्म आफ्नो सैन्य कारबाही जारी रहने स्पष्ट पारिसकेको छ ।

प्रकाशित मिति: १ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com