काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बंगलादेशमा विद्युत् निर्यातबाट नेपालले मासिक २५ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेको जानकारी दिनुभएको छ।

आइतबार ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले नेपालले बंगलादेशलाई दैनिक ४० मेगावाट विद्युत् निर्यात गर्न थालेको र यसबाट पाँच महिनामा झण्डै १ अर्ब २५ करोड रुपैयाँ आम्दानी हुने बताए। उहाँका अनुसार विद्युत् निर्यात यही नोभेम्बर १५ सम्म कायम रहनेछ।

advertisement

“दक्षिण एसियाबाट तेस्रो मुलुकमा विद्युत् निर्यात गर्ने पहिलो देश बन्नु हाम्रो लागि गर्वको विषय हो। बंगलादेशसँग व्यावसायिक रूपमा विद्युत् व्यापार सुरु हुनु देश र जनताको लागि अत्यन्त खुसीको कुरा हो,” मन्त्री खड्काले भन्नुभयो।

नेपाल विद्युत् प्राधिकरणले शनिबार राति १२ बजेदेखि भारतीय प्रसारण लाइन प्रयोग गर्दै बंगलादेशतर्फ ४० मेगावाट विद्युत् पठाउन सुरु गरेको हो। यो विद्युत् नेपालको ४०० केभी ढल्केबर सबस्टेसनबाट भारतको मुजफ्फरपुर हुँदै बेहरामपुर र त्यहाँबाट बंगलादेशको भेरमारा सबस्टेसनसम्म पुग्ने व्यवस्था गरिएको छ।

मन्त्री खड्काले आगामी १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गरिने योजना रहेको बताउँदै, “भारतलाई १० हजार र बंगलादेशलाई ५ हजार मेगावाट निर्यात गरेर देशलाई आर्थिक समृद्धितर्फ लैजाने हाम्रो लक्ष्य हो,” भन्नुभयो।

बजेट वक्तव्यमार्फत् ‘टेक एन्ड पे’ शब्द समावेश हुनुलाई प्राविधिक त्रुटि भन्दै उहाँले त्यसलाई सच्याउने प्रक्रिया अगाडि बढिसकेको जानकारी पनि दिनुभयो।

उक्त पाँच महिनाको अवधिमा कुल १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत् बंगलादेशलाई आपूर्ति गरिनेछ। यस ऐतिहासिक उपलब्धिले नेपाललाई ऊर्जा व्यापारको क्षेत्रमा नयाँ युगमा प्रवेश गराएको मन्त्री खड्काको भनाइ छ।

 

प्रकाशित मिति: १ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com