काठमाडौं । बेलायतको लन्डनस्थित प्रतिष्ठित वेम्बली स्टेडियममा कार्यरत २७ वर्षीय नेपाली युवा विपिन न्यौपाने मृत अवस्थामा फेला परेका छन्। उनी शनिबार दिउँसो स्टेडियमभित्र रहेको एक कोठामा मृत भेटिएका हुन्।

गुल्मीको जोहाङ स्थायी घर भई हाल रुपन्देहीको मणिग्राममा बसोबास गर्दै आएको न्यौपानेको परिवारका लागि यो खबर एकदमै पीडादायी बनेको छ। बाबुआमाका दुई सन्तानमध्ये विपिन एक्ला छोरा थिए भने उनकी दिदी हाल जापानमा कार्यरत छिन्।

advertisement

करिब एक वर्षअघि अध्ययनका लागि बेलायत गएका न्यौपाने लन्डनको हिथ्रो विमानस्थल नजिकै हन्सलो क्षेत्रमा आफ्नै साथीहरूका साथ बस्दै आएका थिए। उनले सेन्ट जोन युनिभर्सिटी, योर्कबाट स्नातकोत्तर (मास्टर्स) तहको अध्ययन पूरा गरेपछि पिएसडब्लु (पोस्ट स्टडी वर्क) भिसा लिएर पूर्ण समय काम गर्दै आएका थिए।

हालसालै उनी एक क्लिनिङ्ग कम्पनीमार्फत वेम्बली स्टेडियममा कार्यरत थिए, जहाँ उत्कृष्ट प्रदर्शनका आधारमा उनी सुपरभाइजर पदमा पदोन्नति भएका थिए। यही क्रममा उनी स्टेडियमभित्र कार्यरत अवस्थामा मृत फेला परेका हुन्।

घटनाबारे बेलायती प्रहरीले प्रारम्भिक अनुसन्धान अघि बढाइसकेको छ। हालसम्मको प्रारम्भिक रिपोर्ट अनुसार यो घटनामा कुनै तेस्रो पक्षको संलग्नता देखिएको छैन। तथापि, विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लन्डनस्थित नेपाली दूतावासले मृतकका परिवारसँग सम्पर्कमा रहेको र आवश्यक सबै कानुनी प्रक्रिया पूरा भएपछि शव नेपाल पठाउन समन्वय गरिने जनाएको छ। लन्डनमै रहेका उनका आफन्त तथा साथीहरू पनि घटनासँग सम्बन्धित सम्पूर्ण जानकारी संकलन र सहयोगमा संलग्न छन्।

विपिनको असमयिक निधनले बेलायतमा रहेका नेपाली समुदायमा समेत शोकको वातावरण छाएको छ। परिवार, साथीभाइ र समुदायले उनको आत्माको चीरशान्तिको कामना गरेका छन्।

प्रकाशित मिति: १ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com