काठमाडौं । संसद्मा बजेटमाथिको छलफल जारी भइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदन अवरोध कायम राखेकोप्रति नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।
भिजिट भिसा प्रकरणको सन्दर्भमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनको माग गर्दै रास्वपाले संसद्मा वेल घेर्ने रणनीति अवलम्बन गर्दै आएको छ। यही प्रसंगमा सांसद बास्कोटाले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन्।
रास्वपाको नाराबाजी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बहिष्कारबीच पनि सभामुखले संसद् बैठकको कारबाही अगाडि बढाएका थिए।
सांसद बास्कोटाले फेसबुकमा लेखेका छन्, “वास्तवमा सरकारले रास्वपालाई धन्यवाद दिनुपर्छ। उनीहरूले सरकारलाई आलोचना नगरीकनै सजिलो बनाइदिए, अरूले आलोचना गर्ने बाटो समेत बन्द गरिदिए। बजेट छलफलको बेला यति सौम्य प्रतिपक्ष सायदै संसारमा भेटिएलान्। जेहोस्, देउसीको लय मिलेको छ।”
उनको भनाइले बजेटमाथि सार्थक छलफल हुनुपर्ने बेला रास्वपाको व्यवहारले प्रतिपक्षको भूमिका नै कमजोर बनेको सन्देश दिएको छ।
प्रकाशित मिति: २ असार २०८२, सोमबार













प्रतिक्रिया