काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे बोल्दै नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा सांसद प्रकाश ज्वालाले बजेट निर्माणमा गम्भीर अनियमितता भएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बजेटको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले मन्त्रीहरू, तिनका नातेदार र बिचौलियाहरूको चलखेलले बजेटलाई विकृत बनाएको दाबी गरे।
‘बजेटमा मन्त्री र उनका आसेपासेहरूको हालीमुहाली स्पष्ट देखिन्छ,’ उनले भने, ‘सहरी विकास मन्त्रालयको बजेट मात्रै हेर्दा पनि मन्त्रीहरूले यसमा एकलौटी पकड जमाएको बुझिन्छ।’
सांसद ज्वालाले मन्त्रीका बाबुआमा र पार्टी कार्यालय निर्माणको नाममा अर्बौं रुपैयाँ छुट्याइएकोप्रति गम्भीर आपत्ति जनाए। उता, दुर्गम जिल्लाहरूमा आधारभूत स्वास्थ्य सेवा, खानेपानी र पूर्वाधार विकासका लागि आवश्यक बजेट नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको उनले स्मरण गराए।
पूर्व भौतिक पूर्वाधारमन्त्री समेत रहेका ज्वालाले राष्ट्रिय योजना आयोगले दिएको निर्देशनलाई समेत सरकारले अवज्ञा गरेको आरोप लगाए। ‘तीन करोड रुपैयाँभन्दा माथिको योजना मात्रै केन्द्रबाट सञ्चालन गरिने’ भन्ने आयोगको मापदण्ड मिचेर बजेट छरपस्ट पारिएको छ,’ उनले भने।
प्रधानमन्त्री, अर्थमन्त्री र सत्तारूढ दलका ठूला नेताहरूको जिल्लामा मात्र बजेट केन्द्रित गरिएको भन्दै उनले आक्रोश व्यक्त गरे। ‘म अर्थमन्त्रीसँग सोध्न चाहन्छु— के नेपाल केवल झापा, रुपन्देही र काठमाडौं मात्रै हो? यही हो सुशासनको नमूना?’ भन्दै उनले बजेटको निष्पक्षता माथि प्रश्न उठाए।
उनको टिप्पणीले बजेट वितरण प्रक्रियामा देखिएको असमानता र राजनीतिक हस्तक्षेपबारे गम्भीर बहस सिर्जना गरेको छ।
प्रकाशित मिति: २ असार २०८२, सोमबार













प्रतिक्रिया