काठमाडौं । संसद्मा सोमबार पनि उही दृश्य दोहोरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू नाराबाजी गर्दै रोष प्रकट गरिरहेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैठक बहिष्कार गरिसकेको छ। यद्यपि, सभामुख देवराज घिमिरेले ती सबै विरोधका बाबजुद संसद् बैठक निरन्तर अघि बढाइरहेका छन्।
यसअघि आइतबार पनि सदनमा यस्तै अवस्था देखिएको थियो। रास्वपाका सांसदहरूले बैठकभर नाराबाजी गरेका थिए भने राप्रपाले सुरुमै बहिष्कार गरेको थियो। आज पनि त्यही दृश्य दोहोरिएको छ—रास्वपाको नाराबाजी जारी छ, राप्रपाको बहिष्कार कायमै छ, तर सभामुख घिमिरेले बैठक सञ्चालनमा कुनै रोकावट हुन दिएका छैनन्।
सभामुखले आजको बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत राजस्व तथा व्ययको वार्षिक अनुमानमाथि सांसदहरूलाई बोल्न समय दिएका छन्। उनले संसद् व्यवसाय अघि बढाउन सहयोग गरिदिन सांसदहरूलाई आग्रहसमेत गरे।
यसैबीच, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले संसद्मै उभिएर सभामुखको कार्यशैलीप्रति आक्रोश व्यक्त गरे। उनले सत्तापक्षले संसद् सञ्चालनमा देखाएको ‘जबरजस्ती’ को आलोचना गर्दै, अल्पमतका दलहरूको आवाज दबाउने काम भइरहेको आरोप लगाए।
यता, केही समय अघिसम्म रास्वपा र राप्रपासँगै विरोधको पंक्तिमा उभिएको प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) भने अहिले संसद् प्रक्रियामा सहभागी देखिन्छ। जेठ ३० गते नेपाली कांग्रेस र एमालेसँग दुई बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेपछि माओवादी केन्द्र संसद्मा सहभागी हुन थालेको हो। त्यसयता सभामुख घिमिरे संसद् बैठक नियमित सञ्चालन गरिरहेका छन्।
तर, रास्वपा र राप्रपाले सभामुखको यही कार्यशैलीप्रति निरन्तर असन्तुष्टि जनाइरहेका छन्। उनीहरूले विपक्षी दलहरूको आवाज बेवास्ता गर्दै संसद् जबरजस्ती चलाइएको गुनासो गर्दै आएका छन्।
प्रकाशित मिति: २ असार २०८२, सोमबार













प्रतिक्रिया