काठमाडौं । राजधानीको कलंकीस्थित इडिफाई इन्टरनेसनल स्कुलको कम्पाउन्डमै सोमबार दिउँसो भएको भयानक दुर्घटनामा एक छात्राको ज्यान गएको छ भने अन्य सात जना घाइते भएका छन्।

दिउँसो १२:५० बजे विद्यालय छुट्ने समयमा नयाँ खरिद गरिएको इभी माइक्रो भ्यान विद्यालयको मुख्य गेटको पिल्लरमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा सर्लाही स्थायी घर भई कुलेश्वर बस्दै आएकी ९ वर्षीया सोनाक्षी यादव गम्भीर घाइते भइ सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।

advertisement

दुर्घटनामा अन्य सात जना घाइते भएका छन्। घाइतेहरूमा सर्लाहीको लालबन्दीकी ८ वर्षीया रेश्मा मोक्तान, रामेछापकी ९ वर्षीया नेसिया थापा, कीर्तिपुरकी ९ वर्षीया निशिका डंगोल, मकवानपुरकी ११ वर्षीया सिमरन खडका, गुल्मीकी ९ वर्षीया प्रेमिसा घर्तीमगर, विद्यालयका प्रधानाध्यापक तनहुँ स्थायी घर भएका ४६ वर्षीय सुरज पोख्रेल र गाडी चालक धनुषाका ६० वर्षीय हर्कबहादुर कार्की रहेका छन्।

प्रहरीका अनुसार घटनाको बेला भ्यानमा चालक मात्र सवार थिए। प्रधानाध्यापकसहित विद्यार्थीहरू गेट छेउमै रहेका बेला अनियन्त्रित भ्यानले ठक्कर दिएको हो। प्रारम्भिक अनुसन्धान अनुसार भ्यान चालकले इभी गाडी चलाउने पर्याप्त अनुभव नपाएको र गाडी सञ्चालनमा अभ्यस्त नभएकै कारण दुर्घटना भएको प्रहरीको भनाइ छ।

घटनापछि प्रहरीले भ्यान चालकलाई नियन्त्रणमा लिएको छ। प्रहरी स्रोतका अनुसार विद्यालयले उक्त इभी भ्यान चार दिनअघि मात्रै नयाँ रूपमा खरिद गरेको थियो। चालकले एक्सिलेटर थिच्ने बित्तिकै भ्यान अचानक अघि बढेर गेटमा ठोक्किएको बयान दिएका छन्।

दुर्घटनापछि विद्यार्थी, अभिभावक र स्थानीयहरूमा आक्रोश र त्रास फैलिएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

 

प्रकाशित मिति: २ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com