काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आजका लागि बोलाएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक अन्तिम समयमा रद्द गरिएको छ।

बैठकको तयारी सदस्य सचिव तथा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई जानकारी नदिई गरिएको थियो, जसले गर्दा प्रक्रिया नै अवैधानिक हुने भन्दै बैठक रोकिएको हो। मेयरलाई उपमेयर, कार्यपालिका सदस्य र नगरसभा सदस्यहरूले नियमित बैठक राख्न दबाब दिँदै आएका छन्।

advertisement

प्रशासनका कर्मचारीलाई प्रस्ताव तयार गर्न लगाएर मेयरले बिहान ११ बजेको लागि बैठक आह्वान गरेका थिए। तर, सदस्य सचिवबिनाको बैठकबारे वैधानिकता सम्बन्धी प्रश्न उठेपछि उनी पछि हटेका हुन्।

कार्यपालिका सदस्य अनिता कार्की (ढोली) का अनुसार बैठकको सूचना हिजो दिइए पनि आज मेयरको सचिवालयबाट बैठक नबस्ने जानकारी आएको छ। उनले भनिन्, “हिजो बैठकको खबर आयो, आज फेरि नबस्ने भनियो। अब कहिले बस्छ भन्ने थाहा छैन।”

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले पनि बैठकबारे आफूलाई कुनै जानकारी नभएको बताए।

असार १० भित्रमा स्थानीय तहले बजेट पेस गरिसक्नुपर्ने कानूनी व्यवस्था भए पनि स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक अझै नबसेपछि काठमाडौं महानगरको बजेट प्रक्रिया अन्योलमा परेको छ।

उक्त समितिमा उपमेयर सुनिता डंगोल, कार्यपालिका सदस्य नवीन मानन्धर, नवराज पराजुली, मैयालक्ष्मी महर्जन र अनिता कार्की (ढोली) सदस्य रहेका छन्।

महानगरको कार्यपालिका र नगरसभा बैठक कहिले बस्ने भन्ने विषयमा पनि अहिलेसम्म स्पष्टता आएको छैन।

प्रकाशित मिति: ४ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com