काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशमा अराजकता बढ्नुको कारण अहिलेको राजनीतिक परिवर्तन कसरी सम्भव भयो भन्ने कुरा युवापुस्तालाई बुझाउन नसकिएको बताएका छन्।

लण्डनस्थित नेपाली दूतावासले गएराति आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले लोकतन्त्र र गणतन्त्रको महत्व नयाँ पुस्तालाई बुझाउन आवश्यक रहेकोमा जोड दिए। उनले संघर्षबाट प्राप्त परिवर्तन र आदर्शलाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै लोकतन्त्रप्रति विश्वास राख्ने सबै शक्तिहरू एकजुट हुनुपर्ने बताए।

advertisement

“लोकतान्त्रिक प्रक्रियामार्फत समाजवाद निर्माणतर्फ अघि बढ्ने हाम्रो संवैधानिक प्रतिबद्धता हो,” पोखरेलले भने, “तर अहिले लोकतन्त्र, राजनीति र नेपाली समाजबारे नकारात्मक धारणाहरू फैलाउने प्रवृत्ति बढ्दो छ, जुन समाप्त गर्न सहकार्य र समन्वय अत्यावश्यक छ।”

उनले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने गतिविधिप्रति चिन्ता व्यक्त गरे। “भ्रमलाई नै विश्वासका रूपमा लिन थालेको देखिन्छ। अरूलाई कमजोर पार्न जानाजान भ्रम फैलाउने प्रवृत्ति बढ्दै गएको छ,” उनले स्पष्ट पारे।

महासचिव पोखरेलले लोकतन्त्र र गणतन्त्रविरुद्ध नियोजित प्रचारप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यसले समाजमा नकारात्मक असर पारेको बताए। नेपाली समाजलाई अराजकताबाट जोगाउन सबै पक्षको साथ र सहयोग जरुरी रहेको उनले उल्लेख गरे।

लोकतन्त्रले प्रत्येक नेपालीको जीवनमा सकारात्मक परिवर्तन ल्याएको विश्वास व्यक्त गर्दै पोखरेलले बेलायतमा रहेका नेपाली समुदायलाई आफू जन्मिएको ठाउँको विकासका लागि सोच राख्न र विदेशमा कमाएको पुँजीको केही हिस्सा नेपालमै लगानी गर्न आग्रह गरे।

महासचिव पोखरेल एमाले पोलिटब्यूरो सदस्य सुजिता शाक्यसहित जेठ २९ गते बेलायत र कतारमा आयोजना हुने कार्यक्रमहरूमा सहभागी हुन गएका हुन्। उनी असार ८ गते स्वदेश फर्कने तालिका रहेको छ।

प्रकाशित मिति: ४ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com