काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकको संसदमा दिएको अभिव्यक्तिलाई खारेज गर्दै गम्भीर आपत्ति जनाएको छ। गृहमन्त्री लेखकले रास्वपाको पार्टी कार्यालयलाई ‘नक्कली पीडित खडा गर्ने थलो’ भनी टिप्पणी गरेका थिए, जसप्रति रास्वपाले तीव्र विरोध जनाएको हो।
पार्टीका प्रवक्ता मनीष झाले एक विज्ञप्ति जारी गर्दै गृहमन्त्रीको अभिव्यक्तिलाई विषयान्तर गराउने नियोजित प्रयासको रूपमा व्याख्या गरेका छन्। ‘संसद्को रोष्ट्रमबाट गृहमन्त्रीले पीडितहरूमाथि धम्कीपूर्ण शैलीमा बोलेका छन्,’ उनले भने, ‘यसलाई हामी नियोजित प्रपञ्चको भागका रूपमा लिन्छौं।’
प्रवक्ता झाले रास्वपाले जेठ २४ गते सार्वजनिक रूपमा “भिजिट भिसा तथा मानव तस्करीसँग सम्बन्धित विषयमा ठगिएका हुनुहुन्छ भने प्रमाणसहित सम्पर्कमा आउनुहोस्” भनेर अपिल गरेको जानकारी दिए। ‘त्यस अभियानमा भर्चुअल र प्रत्यक्ष दुबै माध्यमबाट दुई हजारभन्दा बढी पीडित नेपाली नागरिकहरू पार्टीको सम्पर्कमा आएका छन्,’ उनले बताए। ‘भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी अब विकराल रूप लिइसकेको छ, जुन राज्यका जिम्मेवार निकायले बेवास्ता गर्न मिल्दैन,’ प्रवक्ता झाले भने।
उनले पछिल्लो १८ वर्षयता गृहमन्त्रालय सम्हाल्ने गरेका सबै १४ जना गृहमन्त्रीको छानबिन हुनुपर्ने माग पनि दोहोर्याए। ‘यो कुनै एक दल वा व्यक्तिमाथिको आक्रोश होइन, यो एक गम्भीर संरचनागत समस्या हो। हामी कसैलाई लक्षित गरेर हैन, अपराधको संरचनालाई तोड्न खोजिरहेका छौं,’ उनले स्पष्ट पारे।
रास्वपाले गृहमन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिले न्याय खोजिरहेका पीडितको मनोबल तोड्ने र राज्य संयन्त्रप्रति अविश्वास बढाउने चेतावनी पनि दिएको छ।
प्रकाशित मिति: ४ असार २०८२, बुधबार













प्रतिक्रिया