काठमाडौँ । सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा करिब चार घण्टा लामो महत्वपूर्ण छलफल सम्पन्न भएको छ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको उपस्थितिमा अपराह्न ४ बजे सुरु भएको बैठक राति ८ बजेसम्म चलेको थियो। छलफलमा सरकार सञ्चालन, संसद् अवरोधको अन्त्य, बजेट पारित प्रक्रिया, तथा विभिन्न महत्वपूर्ण विधेयकहरूको प्रगतिबारे गम्भीर विचार–विमर्श भएको हो।
बैठकमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा र ऊर्जा मन्त्री दीपक खड्का सहभागी थिए। एमालेबाट उपप्रधानमन्त्री एवं उपाध्यक्ष विष्णु पौडेल पनि उपस्थित थिए।
कांग्रेस उपसभापति खड्काले बैठकलाई दुई दलबीचको नियमित छलफलको निरन्तरता भनेका छन्। उनका अनुसार सरकारको सेवा प्रवाह प्रभावकारी बनाउने उपाय, संसद् सञ्चालन पुनः सुचारु गर्ने तथा समितिमा अड्किएका विधेयकहरू छिटो अघि बढाउने विषयमा दुवै पक्षबीच सहमति बनेको छ।
असार १५ भित्र शिक्षा विधेयक पारित गर्ने सरकारले शिक्षक संगठनसँग गरेको प्रतिबद्धता स्मरणीय छ। तर हालसम्म उक्त विधेयक समितिमा छलफलमै प्रवेश गरेको छैन। निजामती सेवा विधेयक पनि ‘कुलिङ पिरियड’ सम्बन्धी विवादका कारण रोकिएको छ। खड्काका अनुसार यस्ता विधेयकहरू अघि बढाउने विषय पनि छलफलको एजेन्डामा परेको थियो, यद्यपि शीर्षकअनुसार छुट्टाछुट्टै निर्णय नभएको उनले बताए।
बैठकले संसद् अवरोध हटाई विधायन प्रक्रियालाई तीव्र बनाउने प्रतिबद्धता जनाउँदै दुबै दलले सहकार्यलाई अझ मजबुत बनाउने संकेत दिएको छ।
प्रकाशित मिति: ४ असार २०८२, बुधबार













प्रतिक्रिया