काठमाडौं । एयर इन्डियाको भीषण विमान दुर्घटनाबाट आश्चर्यजनक रूपमा बाँच्न सफल एकमात्र यात्री विश्वासकुमार रमेशले आफ्ना दाजु अजयकुमारको अन्त्येष्टिमा भावुक उपस्थिती जनाएका छन्। गुजरातको दिउस्थित आफ्नै गृहनगरमा बुधबार आयोजित अन्त्येष्टि कार्यक्रममा विश्वासले दाजुको शव काँधमा बोकेका थिए।

दुर्घटनाबाट गम्भीर रूपमा घाइते भएका विश्वासको शरीरमा अझै पनि चोटपटकका निसान स्पष्ट देखिन्छन्। सेतो लुगा र निलो जिन्स लगाएका उनी अन्त्येष्टिमा अत्यन्तै भावुक देखिन्थे। परिवारका सदस्यहरूले उनलाई सहारा दिँदै उभ्याएका थिए।

advertisement

४० वर्षीय विश्वास ब्रिटेनको लेस्टर निवासी व्यवसायी हुन्। उनी र उनका दाजु अजय १२ जुनमा अहमदाबादबाट लन्डन जान उडेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमानमा यात्रारत थिए। तर विमान उडेको केही समयमै दुर्घटनामा परेको थियो।

उक्त दुर्घटनामा २४१ यात्रु र २९ अन्य गरी २७० जनाको मृत्यु भएको पुष्टि गरिएको छ। दुर्घटनामा विश्वासकुमार मात्र जीवित रहेका थिए।

दुर्घटनापछि उनी अहमदाबादस्थित सिभिल अस्पतालमा उपचाररत थिए। मंगलबार साँझ उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो। त्यसपछि उनले सीधा दाजुको अन्त्येष्टि कार्यक्रममा सहभागिता जनाएका हुन्।

सिभिल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राकेश जोशीका अनुसार, डीएनए परीक्षणपछि बुधबार बिहान अजयकुमारको शव परिवारलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

अन्त्येष्टिका लागि अजयको शव दिउँबाट कोली समाजको शवदाहस्थलसम्म पुर्याइएको थियो। सो क्रममा मृतकका आमाबुबा, दुई भाइसहित सम्पूर्ण परिवारजन उपस्थित थिए।

दुर्घटना गत बिहीबार दिउँसो १:३९ बजे सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही समयमै भएको थियो। एयर इन्डियाको उक्त बोइङ विमान अहमदाबादस्थित एक मेडिकल कलेजको परिसरमा ठोक्किएको थियो।

यो दुखद दुर्घटनाले भारत, बेलायत र सम्पूर्ण अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा गहिरो स्तब्धता छाडेको छ। विश्वासकुमारको जीवित रहनु भने अत्यन्तै दुर्लभ र चमत्कारपूर्ण घटना मानिएको छ।

प्रकाशित मिति: ५ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com