काठमाडौं । निलम्बनमा परेका काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे पुनः आफ्नो जिम्मेवारीमा फर्किएका छन्। उच्च अदालत पाटनले निलम्बनको निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशपछि पाण्डेले बिहीबारदेखि पुनः कार्यभार सम्हालेका हुन्।

सुनधारास्थित महानगर प्रहरी कार्यालयमा पुगेका पाण्डेले संचारकर्मीसँग कुराकानी गर्दै अबको कार्यशैली विगतभन्दा अझ सशक्त र प्रभावकारी हुने बताएका छन्। उनले कसैप्रति आग्रह वा पूर्वाग्रह नराखी निष्पक्ष रूपमा काम गर्ने स्पष्ट पारे।

advertisement

‘महानगर प्रहरी अब अझ सशक्त र परिणाममुखी रूपमा लाग्नेछ,’ पाण्डेले भने, ‘हिजोका कमजोरी सुधार गर्दै जनउत्तरदायी कामलाई प्राथमिकता दिइनेछ।’

प्रहरी संगठनभित्रको मर्यादा र अनुशासनलाई विशेष प्राथमिकता दिँदै उनले मातहतका प्रहरी कर्मचारीले आफ्नो कर्तव्य र अधिकारको सीमाभित्र रहेर काम गर्नुपर्ने स्पष्ट संकेत गरे। ‘जो कोही पनि पदीय मर्यादाभन्दा बाहिर गएर काम गरेमा कारबाही हुनेछ,’ उनले चेतावनी दिए।

तत्कालका प्राथमिकताबारे जानकारी दिँदै पाण्डेले वर्षायाममा हुन सक्ने सम्भावित विपद्को पूर्वतयारी पहिल्यैदेखि गरिएको बताए। ‘बाढी, पहिरो र डुबानजस्ता घटनामा खटिन हामी तयारी अवस्थामा छौं,’ उनले भने, ‘नेपाली सेना, सशस्त्र प्रहरी लगायत सरोकारवाला निकायसँग समन्वय गरी तालिम र अभ्यासहरू सम्पन्न भइसकेका छन्।’

जनताको दुःखमा महानगर प्रहरी सधैं अगाडि रहने प्रतिबद्धता व्यक्त गर्दै पाण्डेले संकटका घडीमा जिम्मेवारीबाट पछि नहट्ने दृढता जनाए।

प्रकाशित मिति: ५ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com