काठमाडौं । ओपनर कुशल भूर्तेल र आरिफ शेखको प्रभावशाली प्रदर्शनमा बिहीबार नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले सजिलै पराजित गरेको छ ।

नेदरल्यान्ड्ससँग अघिल्लो खेलमा तीन सुपर ओभरसम्म खेलेर हारेको नेपालले त्यसको बदला लिएको हो । नेपालले १ सय ७५ रनको लक्ष्यलाई दुई बलअगाडि पूरा गर्‍यो ।

advertisement

अन्तिम ओभरमा नेपाललाई जितनिम्ति ७ रन आवश्यक थियो । १९ औं ओभरको अन्तिम बलमा आरिफ शेख रिटायर्ट हर्ट भए । उनको स्थानमा आएका लोकेश बमले अन्तिम ओभरमा दुई छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए । ज्याच लायनको पहिलो बलमा छक्का हानेका लोकेशले दुई बल डट खेले र चौथो बलमा फेरि छक्का प्रहार गरे ।

आरिफले आक्रामक इनिङ्स खेल्ने क्रममा २३ बलमा ३९ रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गरे । त्यसअघि १६ औं ओभरमा आउट भएका कुशलले ५१ बलमा ६ चौकासहित ६५ रन बनाएका थिए ।

ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा ट्वान्टी–२० आईमा डेब्यु गरेका भीम सार्कीले २७ रन जोडे । उनले १६ बलमा दुई चौका र एक छक्का हान्दै डेब्युलाई स्मरणीय बनाए । ओपनर आरिफ शेख ७, कप्तान रोहित पौडेल ६ रनमा गुमाएको नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित १६ रन बनाए ।

नेपालले टस जितेपछि ब्याटिङमा आएको नेदरल्यान्ड्सले ओपनर माइकल लेभिटको सानदार अर्धशतकमा १ सय ७४ रन बनाएको थियो । ७ विकेट गुमाएको डच टोलीका लागि लेभिटले ८६ रन बनाए । करण केसीको बलमा कप्तान रोहितबाट छैटौं विकेटका रूपमा क्याचआउट हुनुअघि लेभिटले ५३ बलमा ६ चौका र ५ छक्का प्रहार गरे ।

४५ रनमै ४ विकेट गुमाएको नेदरल्यान्ड्सका लागि रोइलोफ भान डेर मर्बीले अविजित ३६ रन बनाए । उनले २१ बलमा ४ चौका र एक छक्का हाने । उनीसँगै आर्यन दत्त अविजित रहे । आर्यनले १७ रन जोड्दा १ चौका र १ छक्का प्रहार गरे । सफिब जुल्फिकरले १४ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

 

प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com