काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राज्यकोषको दुरुपयोग हुने गरी बजेट विनियोजन गरेको आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै बस्नेतले मन्त्रालयको बजेट वितरणमा चरम लापरबाही भएको बताएका हुन्। उनले बजेट कार्यकर्ता पोस्ने हिसाबले विभेदपूर्ण तरिकाले वितरण गरिएको दाबी गरे।

advertisement

‘भौतिक पूर्वाधारमा जुन ढंगले बजेट विनियोजन गरिएको छ, त्यो गैरजिम्मेवार, अन्यायपूर्ण र विभेदपूर्ण छ,’ उनले भने, ‘झापा जिल्लामा वैकल्पिक सहायक राजमार्गको नाममा चार दर्जन योजनाहरू पारिएको छ। टोल-टोलका सडकलाई पनि सहायक राजमार्ग भनिएको छ, एउटै जिल्लामा चार दर्जन सहायक राजमार्ग कसरी सम्भव छ?’

बस्नेतले कर्णालीका केही जिल्लामा त एकातिर एकै वटा सडकमा बजेट परेको देखिएको र अर्कातिर कतै पनि नपरेको बताए। उनले बजेट दलको स्थानीय समिति सिफारिसका आधारमा विनियोजन गरिएको आरोप लगाउँदै भने, ‘यदि जिल्लाबाट सिफारिस भएको हो भने ठूलै योजना आउनुपर्ने हो। यो राज्यकोषको दुरुपयोग हो।’

उनले आफ्नो निर्वाचन क्षेत्र जाजरकोटको कुनै सडक रातो किताबमा नपरेको भन्दै आपत्ति जनाए। ‘सच्याइने भनिएको छ तर सुरुदेखि छुट्नु भनेको गम्भीर लापरबाही हो,’ उनले भने।

बस्नेतले रणनीतिक सडक र पुलका योजनाहरूमा समेत मनपरी भएको उल्लेख गर्दै रारा राजमार्ग अन्तर्गतका करिब आधा दर्जन सडक पुल बजेटबाट हटाइएको आरोप लगाए।

‘मन्त्रालयको कुल बजेट बढेको छ तर मुख्य राजमार्गहरूमा बजेट घटाइएको छ,’ उनले प्रश्न गरे, ‘अनि त्यो बजेट गयो कहाँ?’

प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com